महिला हिंसा अन्त्य गर्न जनचेतना र कारबाही बढाऔं: राष्ट्रपति - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

महिला हिंसा अन्त्य गर्न जनचेतना र कारबाही बढाऔं: राष्ट्रपति



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानुनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गरेकी छन्।

राष्ट्रपति भण्डारीले ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय दिवस’ का अवसरमा आज दिएको शुभकामना सन्देशमा कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेका सन्दर्भमा त्यस्ता सबै प्रकारका हिंसा अन्त्य गर्दै लैंगिक समानताको स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको जनाएकी छन्।

नेपालको संविधानले हिंसामुक्त न्यायिक समाजको परिकल्पना गरेको उल्लेख गर्दै सन्देशमा नेपाल सरकार संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न लागिपरेका सन्दर्भमा समाजका सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनार्थ अग्रसर हुनुपर्नेमा जोड दिइएको छ।

“बोक्सी, छाउपडी, दाइजो तथा तिलक प्रथाजस्ता सामाजिक कुरीति, कुप्रथा र अन्धविश्वासलाई कानूनले निषेध गरेको भए तापनि अझै धेरै दिदीबहिनी हिंसा, विभेद र अपमानका पीडाबाट गुज्रिनु परिरहेको छ। घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार, एसिड आक्रमणका साथै बलात्कारजस्ता जघन्य हिंसा निर्मूलन गर्ने सरकारका प्रयास पूर्ण रूपमा सफल बनाउन समाजका सबै पक्ष त्यत्तिकै सक्रिय हुनुपर्छ” , राष्ट्रपतिको सन्देशमा भनिएको छ, “हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाजको निर्माणका लागि महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित सम्पूर्ण महिलाले आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण गरिनुपर्दछ। राज्यका सबै तह तथा संरचनामा लैंगिक मूल प्रवाहीकरण गरी लैंगिक उत्तरदायी शासन पद्धतिलाई संस्थागत गर्न आवश्यक छ।”

उनले कोभिड–१९ को महामारीले बालबालिका, किशोरी तथा महिलाको जीवनलाई थप कष्टकर बनाएकाले संघीय, प्रदेश र स्थानीय सरकारले रोकथाम नियन्त्रण र उपचारका लागि आवश्यक नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गरी आआफ्ना तर्फबाट भरमग्दूर प्रयास गर्नुपर्नेमा पनि जोड दिएकी छन्। रासस