प्रचण्ड भ्रष्टाचारी र अपराधी हुन्, त्यत्तिकै छाड्नु हुन्न: महेश बस्नेत
दाङ- नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड भ्रष्टाचारी र अपराधीको संज्ञा दिएका छन् । उनले भ्रष्टाचारी र अपराधी प्रचण्डलाई केपी ओलीले त्यसै नछाड्ने बताए
घोराहीमा बिहीबार ओली निकट युवाहरुको भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले प्रचण्ड र नेपालमा निर्वाचनदेखि भाग्ने र सजिलै पद खोज्ने प्रवृत्ति रहेको आरोप समेत लगाए ।
उनले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिएर दाहाल र नेपालले जनताले दिएको मतको अपमान गरेको समेत आरोप लगाए । राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष रहेका बस्नेतले ओलीको कदम लोकतान्त्रिक भएको दाबी गरे ।
दुई तिहाइको सरकारलाई काम गर्न नदिने र ताजा जनादेश लिन जान खोज्दा पनि विरोध गर्ने प्रवृत्ति ठीक नभएको उनको भनाइ थियो ।
दाहाललाई भ्रष्टाचारी र अपराधीको संज्ञा दिँदै नेता बस्नेतले यस्ता व्यक्तिलाई प्रधानमन्त्री ओलीले त्यत्तिकै नछाड्ने चेतावनी दिए । ‘यस्ता भ्रष्टाचारी र अपराधीलाई ओलीले त्यत्तिकै उन्मुक्ति दिनु हुन्न । दाहाल कारबाहीको भागिदार हुनुपर्छ । उनले गरेको अपराध लुक्न सक्दैन,’ उनले भने, ‘माधव नेपालले पनि समयमै दाहाललाई बुझ्न जरुरी छ । आफ्नै सरकार र पार्टी भत्काउने व्यक्तिलाई सबैले चिन्नुपर्छ ।’
नेकपाकी नेतृ शान्ता चौधरीले पनि ओलीको कदम बाध्यात्मक भएको बताइन् । आफ्नै शीर्ष नेताहरुले काम गर्न नदिएपछि र उल्टै सरकारबाट हटाउने प्रयत्न गरेपछि ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको उनले बताइन् ।
दाहाल–नेपाल समूहका युवाहरुले पनि बुधबार छुट्टै भेला गरेका थिए । भेलाले प्रेम बुढाको संयोजकत्वमा युवा संघ जिल्ला समिति गठन गरेको थियो ।