कांग्रेस र माओवादी फुटाइदिने महेश बस्नेतको चेतावनी - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

कांग्रेस र माओवादी फुटाइदिने महेश बस्नेतको चेतावनी



काठमाडौँ- नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विभाजन गर्न सक्ने हैसियतमा आफूहरु भएको दाबी गरेका छन् । नेपाली कांग्रेसमा २३ भन्दा बढी सांसद र माओवादी केन्द्रमा २५।२६ सांसदले पार्टी विभाजन गर्न लागिरहेको भन्दै बस्नेतले दुवै दल विभाजन गर्न सक्ने हैसियत आफूहरुसँग भएको दाबी गरेका हुन् ।

‘हिजो एमालेविरुद्ध सत्तोसराप गर्ने नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माहरु एमालेसँग एकता गर्नुपर्छ भन्ने कुरा गरिरहेका छन् । उनीहरुले जस्तो षड्यन्त्रपूर्ण ढंगले जाने हो भने कांग्रेसभित्रको २३ जना भन्दा बढी सांसदहरु कांग्रेस विभाजन गर्ने तहमा छलफल गरेका छन्,’ सोमबार युवासंघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘माओवादी भित्रको २५।२६ सांसदहरु प्रचण्डबाट पार लाग्दैन अब तोड्नु पर्छ भनेर लागिरहेका छन् । हामीले उहाँहरुको जस्तो हर्कत गर्ने हो भने दुवै दलमा विभाजन गर्न सक्ने हैसियतमा हामी छौं ।’

यद्यपि राजनीतिमा यस्ता गतिविधि गरेबापत आफूहरुलाई अपहरणकारीको आरोप लाग्ने गरेको बस्नेतको भनाइ छ । ‘राजनीतिमा यस्ता गतिविधि गरेबापत हामीलाई अपहरणदेखि अनेक खालका आरोप लगाउने गर्छन् । यिनका यी आरोप जनतामा कसैले पत्याउने वाला छैनन् । केपी ओली शतिशाल झै उभिएका कारण यिनीहरु गन्ह्याउने झार जस्ता भएर ओइलाएका छन्,’ उनले भने ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने अभियानलाई पनि सँगसँगै लैजाने दाबी बस्नेतले गरे ।