राजनीति दूषित भयो, निर्वाचनले सबै निकाश दिन्छ: महेश बस्नेत - Himal Post Himal Post
  • १६ माघ २०८१, बुधबार
  •      Wed Jan 29 2025
Logo

राजनीति दूषित भयो, निर्वाचनले सबै निकाश दिन्छ: महेश बस्नेत



काठमाडौं- नेकपा एमालेका युवा नेता महेश बस्नेतले देशमा बढ्दो राजनीतिक अस्थिरतालाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले अब सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

आइतबार बिहान भक्तपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले जनताले एमालेलाई पाँच वर्ष सरकार सञ्चालनको जिम्मेवारी दिए पनि पार्टीहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएको र पार्टीभित्रै चलेको दूषित खेलका कारण सरकार ढाल्ने फोहोरी खेल चलेपछि राजनीतिलाई सही मार्गमा ल्याउन निर्वाचन आवश्यक भएको बताएका हुन् ।

निर्वाचन नै अहिलेको राजनीतिक निकास दिने सूत्र भएको भन्दै उनले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको रहर नभई बाध्यता भएको बताए । सरकारमा जान हतारो गरेका र सरकारको नेतृत्व लिने चाहना गरेकाहरूले मंसिरमा हुने निर्वाचनमा बहुमत ल्याएर सरकार चलाउन सक्छन् भन्दै बस्नेतले संसदले बिजनेस नपाएर ‘थारो गाई’ जस्तै भएर रहनुभन्दा विघटन भएर निर्वाचनमा जानु नै उपयुक्त भएको बताए ।

‘संसद् थारो गाईजस्तै भयो, राजनीतिक निकास दिन नसक्ने, वैकल्पिक सरकार पनि दिन नसक्ने, कानुन बनाउन नसक्ने भएपछि विकल्प नयाँ जनमत नै हो’, उनले भने, ‘दलहरूबीचको अन्तरविरोध, आपसी द्वन्द्व, अनेकौँ विकृति, विसङ्गति र सत्ताको खिचातानी बढाएर देशलाई राजनीतिक द्वन्द्वतिर लैजानुभन्दा नयाँ जनादेशमा जानु नै उत्तप विकल्प हो, प्रधानमन्त्रीले त्यही बाटो रोज्नुभयो ।’

गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले ११ फागुनमा फैसला गरी राजनीतिक निकासका लागि बाटो खोलिदिए पनि निकास नपाएको भन्दै नेता बस्नेतले पार्टी फोर्ने, विधि पद्धति उल्लङ्घन गर्ने/गर्न लगाउने, सत्तालिप्साका लागि कीर्ते हस्ताक्षर गर्ने/गराउने, पार्टीको निर्णयविपिरीत जाने/जान लगाउनेजस्ता आपराधिक गतिविधिका कारण निर्वाचनमा जानुपरेको बताए ।

सरकारले आगामी कात्तिक २६ र मङ्सिर ३ गते घोषणा गरेको चुनावलाई सबै मिलेर सफल पार्नुपर्छ भन्दै उनले चुनावमा गएर जनतासँग मत माग्न नसक्ने, मत पाउने आशा नभएका, जनमत गुमेका, निर्वाचनमा पराजयको त्रास भएकाहरूले निर्वाचनको विरोध गरेको आरोप लगाए ।

नेकपा एमाले निर्वाचनमा होमिसकेको बताउँदै उनले विरोध गरेर निर्वाचनमा नलाग्नेहरू आफैँ पछाडि पर्ने टिप्पणी गरे । सरकार निर्वाचन र कोरोना भाइरसको नियन्त्रणमा केन्द्रित हुने बताउँदै उनले सबै पार्टीहरू निर्वाचन र कोरोना भाइरसलाई परास्त गर्न जुट्नुपर्ने बताए । रासस