महेश बस्नेत भन्छन: सुर्य चिन्ह नपाए पनि फरक पर्दैन, एमाले ब्युँतिन्छ - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

महेश बस्नेत भन्छन: सुर्य चिन्ह नपाए पनि फरक पर्दैन, एमाले ब्युँतिन्छ



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि विभाजन भएको नेकपामा चुनाव चिन्ह र आधिकारिकताको विवाद चर्किंदै गएको बेला नेकपा ओली समूहका नेता महेश बस्नेतले आफूहरूले सुर्य चिन्ह नपाएपनि फरक नपर्ने बाएका छन् ।

आइतबार एक टेलिभिजनसँग कुरा गर्दै बस्नेतले आफ्नो समूह जुनसुकै चिन्ह लिएर पनि निर्वाचनमा जान तयार रहेको बताएका हुन् ।

उक्त टेलिभिजनसंगको कुराकानीमा बस्नेतले कानूनी अड्चन बाँकी भए पनि राजनीतिक र व्यवहारिक रूपमा पार्टी फुटिसकेको स्वीकार गरेका छन् ।

बस्नेतका अनुसार विभाजित भएका दुवै समुहले तल्ला कमिटीसम्मै फुटको सांगठानिक अभ्यास गरिसकेका छन् । बस्नेतले आफूहरू सूर्य चिन्ह पाउनेमा विश्वस्त भए पनि अन्य चिन्ह लिएरसमेत निर्वाचनमा जान कुनै अप्ठेरो नहुने धारणा राखेका हुन् ।

पार्टीको आधिकारिकता र चुनाव चिन्हमाथि दुवै पक्षले आ-आफ्नै दाबी प्रस्तुत गरिरहेका बेला उनले भनेका छन्, ‘ल सूर्य चिन्ह दिएनछ, हामी त्यहिअनुसार लडौंला नि त !, सूर्य चिन्ह साविक एमालेको हो । अहिले हामी एमाले एकै ठाउँमा छौँ । सूर्य चिन्हमा एमालेको लिगेसी भएकाले हामीले नै पाउनेमा कुनै शंका छैन । यदि हामीले पाएनौँ भने पनि जुनसुकै चिन्ह लिएर समेत चुनावमा जान हिम्मत गर्नुपर्छ’

यतिमात्र होइन कार्यक्रममा बस्नेतले एमाले पार्टी पनि ब्युँतिने बताए । उक्त पार्टी आफूहरूले दर्ता गरेको मौन समर्थन गर्दै उनले औपचारिक बिभाजन भएको दिन एमाले ब्युँतिने बताए । उनले भने, ‘पार्टीमा सबैतिर माओवादीको हालीमुहाली बढेको देखेपछि एमालेलाई माया गर्नेहरूले दर्ता गरेको हो, एकता भंग हुँदा एमाले फेरि ब्युँतिन्छ ।’

यसअघि स्थायी कमिटीको एउटा बैठकमा पार्टी फुटाउने उद्देश्यले ओलीको प्रत्यक्ष निर्देशनमा एमाले नामको दल दर्ता गराइएको उपाध्यक्ष वामदेव गौतमले खुलासा गरेका थिए ।