धुर्कोट गाउँपालिका अध्यक्षमा महेन्द्र भण्डारी सिफारिस
नेपाली कांग्रेस गुल्मीले जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्षमा उम्मेदवार टुङ्ग्याएको छ । कांग्रेसले नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि महेन्द्रप्रसाद भण्डारी सर्वसम्मत उम्मेदवारको रुपमा चयन गरेको हो ।
मंगलबार बसेको गाउँपालिकाको बैठकले भण्डारीलाई सर्वसम्मत चयन गरेको पालिका सभापति हरिबहादुर थापाले जानकारी दिए ।
धुर्कोटको समग्र विकासमा उनले अघि सारेका योजना महत्वपूर्ण रहेको भन्दै सभापति थापाले उनको नाम सर्वसहमतिमा अघि सारेको हो ।
२०७४ को निर्वाचनमा पनि यो गाउँपालिकामा कांग्रेस र माओवादी बीच तालमेल गरिएको थियो । त्यतिबेला अध्यक्षमा माओवादीका भुपाल पोखरेल निर्वाचित भएका थिए भने उपाध्यक्षमा कांग्रेसका शिव केसी ।
३० वैशाखमा हुने निर्वाचनको सन्दर्भमा कांग्रेस र माओवादी बीच जिल्लाका १२ स्थानीय तहमध्ये कांग्रेसले ८ वटा पालिकामा अध्यक्ष तथा प्रमुख र माओवादीले ४ वटा पालिका अध्यक्ष लिने सहमति गरेका थिए । अहिलेसम्म कांग्रेसले ४ वटा पालिकामा नाम टुंग्याएको छ भने माओवादीले एउटामा ।