नेकपा फुटेपछि मात्र सहकार्य हुन्छ: राजेन्द्र महतो
काठमाडौं- जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सत्तारुढ दल एक हुँदासम्म सरकार गठनको विषयमा नेकपाको कुनै पक्षसँग सहकार्य हुन नसक्ने बताएका छन् । धनगढीमा मंगलबार भएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता महतोले नेकपा औपचारिक रूपमा विभाजित भएपछि मात्र कुन पक्षसँग सहकार्य गर्ने भन्ने विषयमा छलफल गर्न सकिने बताए ।
‘संविधान र कानुनको नजरमा अहिले पनि नेकपा एक छ र संसद्मा नेकपाको झन्डै दुईतिहाइ बहुमत छ । त्यसैले सरकार बनाउन नेकपालाई कसैको आवश्यकता छैन,’ महतोले भने, ‘एउटै पार्टीको सरकार रहेसम्म न कांग्रेसले केही गर्न सक्छ, न जसपाले ।’ नेकपाको विवाद टुंगोमा पुगेपछि मुद्दा मिल्नेसँग जसपाले सहकार्य गर्ने उनको भनाइ छ । महतोले भने, ‘अहिले पनि नेकपाको अध्यक्ष केपी ओली, संसदीय दलको नेता ओली र प्रधानमन्त्री पनि ओली नै छन् । पार्टीको विवाद टुंगो नलाग्दासम्म नेकपाको कुन समूहसँग सहकार्य गर्ने ?’
सरकारमा सहकार्यका लागि थारू र मधेसी समुदायका माग सम्बोधन गर्ने गरी संविधान संशोधन र टीकापुर घटनामा दोषी ठहर भई आजीवन कारावासको सजाय भोगिरहेका सांसद रेशम चौधरीलगायत नेताको रिहाइ आफूहरूको सर्त रहने उनले बताए ।
जनताका चाहना र माग समेट्न नसक्दा मुलुकमा अहिलेसम्म ६ वटा संविधान असफल भएको चर्चा गर्दै उनले यो संविधानमा पनि मधेसी र थारू समुदायका सवाल नसमेटिएको जिकिर गरे ।