दुई तिहाईको घमण्ड गरे समर्थन फिर्ता लिने महतोको चेतावनी - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

दुई तिहाईको घमण्ड गरे समर्थन फिर्ता लिने महतोको चेतावनी



हरिश चन्द्र बाग, कञ्चनपुर
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाईको घमण्ड गरे वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ । बिहिबार राजपा कञ्चनपुरले बेलौरीमा आयोजना गरेको संविधान विरोध सभा कार्यक्रममा सरकारले पाएको दुई तिहाइ बहुमतको दुरुपयोग भएको र दुई तिहाइको दम्भ समेत सुरु भएको आरोप लगाउनु भएको हो ।

जनताले जबसम्म आफ्नो अधिकार सुनिश्चित गर्न पाउँदैनन्, तबसम्म राजपाले यो संविधानको विरोध गरिरहने उहाँले चेतावनी दिनुभयो । तीन वर्षदेखि पटक–पटक संविधान संशोधन गर्ने आश्वासन पाए पनि पूरा नभएको राजपा नेता महतोको गुनासो छ । ३ वर्षअघि भएको टिकापुर घटना राजनीतिक घटना भएको भन्दै उहाँले बन्दी जीवन बिताइरहेका रेशम चौधरीको सपथग्रहण र टीकापुर घटनाका अन्य आरोपीलाई बिना शर्त रिहाई गर्नुपर्ने समेत माग गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अर्का सदस्य अनिल कुमार झाले पनि मधेस तथा थारू समुदायको माग सम्बोधन गर्ने शर्तमा आफूहरुले वर्तमान सरकारलाई समर्थन गरेको जिकिर गर्नुभयो । उहाँले नेपाली जनताको कुरा बुझ्न, बोल्न र केही गर्न चाहने पार्टी राजपा मात्रै भएको दाबी गर्दै पछिल्लो समयमा बढिरहेका हत्या, हिंसा र बलात्कारका घटना प्रति सरकार उदासिन देखिनु दुखद भएको उल्लेख गर्नुभयो । कञ्चनपुरको भिमदत्त नगरपालिका २ खोल्टीकी निर्मला पन्तका परिवारलाई न्यायका लागि नेता झाले सरकार संग आग्रह गर्नुभयो ।

बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित २०७२ को संविधान विरोध सभा कार्यक्रममा प्रदेश सभा सदस्यद्वय कृष्ण बहादुर चौधरी र मालामति राना सहित राजपाका स्थानीय देखि केन्द्रीय स्तरका नेता कार्यकर्ताको उपस्थिति रहेको राजपा कञ्चनपुरका अध्यक्ष मण्डलका सदस्य एवं प्रवक्ता अम्बा दत्त तिवारीले बताउनु भयो । राष्ट्रिय जनता पार्टी कञ्चनपुरका अध्यक्ष मण्डलका संयोजक पल्टु रानाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।