मन्त्री महासेठ भन्छन : टुटल र पठाओलाई कारबाही - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

मन्त्री महासेठ भन्छन : टुटल र पठाओलाई कारबाही



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विदेशी कम्पनी कम्पनी टुटल र पठाओले गैरकानुनी रुपमा यात्रु ओसार्दै आएको बताउँदै संविधान नमान्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

“संविधानको अधिनमा नबसेर निजी मोटरसाइकलले गैरकानुनी रुपमा यात्रु ओसार्ने टुटल पठाओलाई मन्त्रालयले कारबाही गर्ने छ,” भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भने, “यात्रुलाई सेवा दिनु आफ्नो ठाउँमा छ तर संविधानमा जुन नम्बरप्लेट जस्तो प्रयोजनका लागि तोकिएको छ त्योविपरित सवारी साधन चलाउन पाइँदैन ।”

मन्त्रालयले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महासेठले कुनै पनि व्यवसायीलाई व्यवसाय गर्न छुट रहेको तर उक्त व्यवसाय संविधानको अधिनमा हुनुपर्ने बताए ।

टुटल र पठाओको गैरकानुनी धन्दालाई कानुनअनुसार कारबाही गर्न मन्त्रालयलाई के ले रोक्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री महासेठले भने, “टुटल र पठाओ सडकमा सञ्चालन भइरहेका छन् । सडकमा गुडेका सवारीको नियमन ट्राफिक प्रहरीले गरिरहेको छ । ट्राफिक प्रहरी गृह मन्त्रालयअन्तर्गत परेको हुँदा गृहसँग पनि छलफल गरेर गैरकानुनी रुपमा सञ्चालन भएका टुटल र पठाओलाई कारबाही गरिनेछ ।”

मोबाइल एप्स प्रयोग गरी भनेको समयमा, भनेको ठाउँमा यात्रुसेवा पाइने भएकाले सर्वसाधारण यात्रुले यी कम्पनीको सकारात्मक टिप्पणी गर्ने गरेका छन् ।

“यी कम्पनीले निजी प्रयोजनका लागि प्रयोग हुने रातोमा सेतो अक्षर नम्बरप्लेटको मोटरसाइकल प्रयोग गरेर भाडामा सञ्चालन हुने कालोमा सेतो नम्बरप्लेटका भाडाका सवारीले सेवा दिनु गैर कानुनी हो,” उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्ण तामाङ भन्छन्, “टुटल र पठाओले ट्याक्सीसँग प्रतिष्पर्धा गरे भन्ने हाम्रो चिन्ता होइन तर प्राइभेट मोटरसाइकलले भाडामा यात्रु ओसार्दा पनि सरकारले किन कारबाही गर्न सकिरहेको छैन ? हाम्रो प्रश्न यो हो ।”