भैसकेको सहमति भाँडियो, महासचिवमा निर्वाचन हुने पक्का, बस्नेत र पम्फा 'आउट' - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

भैसकेको सहमति भाँडियो, महासचिवमा निर्वाचन हुने पक्का, बस्नेत र पम्फा ‘आउट’



काठमाडौं- माओवादी केन्द्रको महासचिवमा भैसकेको सहमति पनि भंग भएको छ । यससँगै महासचिवको चयनले नयाँ मोड लिएको छ । आइतबार साँझसम्म सहमति भैसकेको परिस्थिति फेरिएर सोमबार निर्वाचनतिर मोडिएको छ ।

आइतबार प्रचण्डसहित केही नेताहरूबीच नेता शक्तिबहादुर बस्नेतको नाममा सहमतिको प्रयास भएको थियो । उक्त प्रयासमा धेरै नेताहरू सहमत पनि भएका थिए । महासचिवको दाबी गरिरहेका वर्षमान पुनले चीनबाटै सन्देश पठाएर आफू नहुँदा बरु शक्ति बस्नेतको नाममा सहमति जनाउन सकिने बताएका थिए । पुनको सहमति पाएका बस्नेतलाई कृष्णबहादुर महराले पनि समर्थन गरेको माओवादीमा चर्चा चलेको छ ।

महासचिवको दाबी गरिरहेका जनार्दन शर्माले भने बस्नेतलाई समर्थन नगर्ने अडान राखेका छन् । उनीहरू समकालीन नेता हुनुको साथै एउटै प्रदेशका प्रतिस्पर्धी नेता पनि हुन् । त्यसैले उनीहरूबीच भूगोलदेखि पार्टी केन्द्रसम्म प्रतिस्पर्धा भएकाले पनि शर्माले बस्नेतको नाममा सहमति जनाउन नसकेका हुन् ।

शर्माले सहमति नजनाउने अवस्थामा निर्वाचनको विकल्प नदेखिएको माओवादी स्रोतले दाबी गर्‍यो । स्रोतका अनुसार बस्नेतको नाममा सहमतिको प्रयास गर्न प्रचण्ड स्वयम्‌ लागेका थिए । महासचिवको दाबीमा खासै नदेखिएका र शक्तिको हिसाबले पनि कमजोर रहेका बस्नेतलाई महासचिव बनाएर प्रचण्डले पार्टी शक्ति आफूमै केन्द्रित गरिराख्ने मनसाय देखिन्छ ।

तर, कतिपय नेताहरूले आउँदो निर्वाचनमा अन्य दलसँग मुकाविला गर्न सक्ने ल्याकत भएको नेता महासचिव हुनुपर्छ भन्ने मत बलियो देखिन थालेपछि प्रचण्ड शक्तिलाई महासचिव बनाउने मनसायबाट मौन बसेका हुन् । माओवादी स्रोतका अनुसार यसमा पुन, शर्मा, बस्नेतलगायतका नेताहरूको प्रतिस्पर्धामा पम्फा भुसाल र देव गुरुङमध्ये एक महासचिव बन्ने चर्चा पनि सुरु भएको छ ।

माओवादीको पहिलो केन्द्रीय समितिको बैठक सोमबार दिउँसो बस्दैछ । र, त्यही बैठकले महासचिवसहितका पदाधिकारी चुन्ने तयारी गरेको छ ।