सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छ: नेता महर
धनगढी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । प्रेस युनियन कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छ ।
कार्यकर्ता पाल्ने, आसेपासेलाई फाइदा दिनबाहेक जनताका आधारभूत आवश्यकता पूरा गराउनतर्फ केन्द्रित भएको छैन,’ उनले भने, ‘यो सरकार जनताको अधिकार, विकासको विपक्षमा छ ।’
प्रदेश सरकारले जनताको पक्षमा काम गर्न नसक्दा जनता रुष्ट भएको उनले बताए । सरकारको कामकारबाहीबाट जनता निरास भएको तर्क गर्दै नेता महरले केन्द्रमा पाँचदलीय गठबन्धनको सरकार रहे पनि सुदूरपश्चिम सरकारको कांग्रेसलाई पेलेर अघि बढ्ने रणनीति लिएको आरोप लगाए ।
‘संघमा पाँच दलको गठबन्धनको सरकार रहेको छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसकै सभापति रहेका छन्,’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा कांग्रेसलाई प्रमुख प्रतिपक्षीमा राख्नु र सरकारमा सहभागिता नगराउनु यो सरकारको दुर्भाग्य हो ।’ आफूले सुदूरपश्चिममा कांग्रेसलाई सरकारमा सहभागी गराउन पटक–पटक कुरा राखे पनि सुनुवाइ नभएको गुनासो गरे ।
आफू राष्ट्रिय योजना आयोगको टोलीसँग प्रदेशका नौ वटै जिल्लामा जाँदा विकासको दृष्टिकोणमा प्रदेश अत्याधिक पछि रहेको पाएको नेता महरले बताए । उनले भने, ‘पश्चिम सेती परियोजना, बझाङको ताक्लाकोट जोड्ने सडक, फास्ट ट्रयाक, पञ्चेश्वर आयोजना, गेटा विमानस्थलको स्तरोन्नति तथा सुदृढीकरण लगायतका योजनाको कार्य यो सरकारले यथाशिघ्र सम्पन्न गर्नुपर्नेछ ।’ उनले गेटा मेडिकल कलेजलाई विश्व विद्यालय नै बनाउनुपर्ने पत्रकार सम्मेलनमा जोड दिए ।
‘मेडिकल कलेजको भौतिक संरचना निर्माण भइसकेका छन् । यसलाई प्रतिष्ठान, मेडिकल कलेज वा सुदूरपश्चिम विश्वविद्यालय मातहात सञ्चालन गर्ने भन्ने तीन विकल्पको छलफल भएका रहेछन्,’ नेता महरले भने, ‘मेरो व्यक्तिगत विचारमा यसलाई छुट्टै मेडिकल युनिभर्सिटी बनाउनुपर्छ । यो नेपालमै पहिलो हुनेछ ।’उनले प्रदेशका सातवटा पहाडी जिल्लाको विकासलाई सरकारले ध्यानमा राख्नुपर्ने बताए ।