ऐन महरलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

ऐन महरलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा



बझाङ- अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का संयोजक ऐन महरलाई आफ्नै कार्यकर्ताले कालो झण्डा देखाएका छन ।

संगठनको संयोजक भएर पनि गुटमात्रै चलाएको भन्दै अनेरास्ववियूकै कार्यकर्ताहरुले बझाङमा उनलाई कालो झण्डा देखाएका हुन्।

बझाङको बुङ्गल नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महरलाई अनेरास्ववियूका जिल्ला कमिटीका नेतालगायतका कार्यकर्ताहरूले कालो झण्डा देखाएका थिए।

कार्यकर्ता भेटघाट कार्यक्रममा महरको विरोध गर्दै विद्यार्थी नेताहरूले ‘अनेरास्ववियू जिन्दावाद’, ‘गुट भेला मुर्दावाद’ भन्दै नाराबाजीसमेत गरेका थिए।

कालो झण्डा देखाउने अनेरास्ववियूका जिल्ला कमिटी सदस्य गणेश कुँवर र पूर्वजिल्ला कमिटी सहसचिव रामचन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष, नगर कमिटी सदस्य नमेश कुवर, त्रिवेणी बहुमुखी क्याम्पसका स्ववियु सभापति जयबहादुर कुँवर र सचिव मिलन ताम्राकार भने बेपत्ता भएका जिल्ला कमिटी सदस्य गणेश कुँवरले जानकारी दिए।

बझाङमा अनेरास्ववियू संगठन विस्तार गर्दा संयोजक महरले एकता विधानविपरीत कार्य गरेको भन्दै अनेरास्ववियूका नेता कार्यकर्ताहरुले व्यापक असन्तुष्टि जनाउँदै आएका थिए।