महालक्ष्मीद्वारा आश्रमलाई ४५ हजार सहयोग
बुटवल :महालक्ष्मी विकास बैङ्क बुटवल शाखाद्वारा एक कार्यक्रमको आयोजना गरी बुटवल ११, देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैङ्क लि. बुटवल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अनतरगत शारीरिक र सामाजिक समस्याहरूबाट गुज्रिरहेका व्यक्तिहरूका लागि सेवा सुविधा एवम् पुनःस्थापनाको सामाजिक भावनाले प्रेरित भई स्थापना भएको आश्रममा खाद्यभण्डार निर्माणार्थ रु. पैँतालिस हजारको चेक उपलब्ध गराएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा आश्रममा आश्रित विभिन्न व्यक्ति तथा बुटवल उपमहानगर पालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री र बैङ्कका बुटवल शाखा प्रबन्धक आरोग्यराज खनाल र बैकका बुटवल शाखाका कर्मचारी लगायतले संयुक्त रूपमा आश्रमका अध्यक्ष श्री डोल बहादुर राम्दामलाई चेक हस्तान्तरण गरेको हो ।
हाल उक्त आश्रममा ३२ जना शारीरिक अशक्त व्यक्ति रहेको र खाद्यान्न भण्डारणको लागी खाद्यभण्डारको आवश्यक भएको र प्राप्त उक्त रकम खाद्यभण्डार निर्माणमा उपयोग गरिने आश्रमका अध्यक्ष राम्दामले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै बैङ्कका शाखा प्रबन्धक खनालले आगामी दिनमा पनि बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वका थप कार्यक्रम अन्तरगत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम गर्ने जानकारी दिनुभयो । त्यस्तै वडा अध्यक्ष क्षेत्रीले बैङ्कले गरेको आर्थिक संयोगको लागी धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अरू धेरै सामाजिक काममा थप सहकार्य शुभकामना व्यक्त गर्नुभयो ।