महाकाली नदीमा बेपत्ता भएका युवकको शव फेला
पप्पु गुरुङ्ग / दोधारा,कञ्चनपुर ।
महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको शव शनिबार फेला परेको छ । बाजुराको शेरदह गाँउपालिका घर भई महेन्द्रगरमा अध्ययन गर्दै गरेका १९ वर्षीय प्रेम रावत महाकाली नदीमा बिहिवार नुहाउने क्रममा बेपत्ता भएका थिएथिए
दोधारा चाँदनी नगरपालिका वडा नं. ९ स्थित काका उदय रावतको घरमा केहि दिन देखि बस्दै आएका रावत विहिवार अपरान्ह महाकाली नदीको ढकनाघाट क्षेत्रमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । शनिबार अपरान्ह बेपत्ता भएको करिब ३ किलोमिटर पश्चिम/ दक्षिण महाकाली नदी र जगुबडा नदीको दोभान कुतियाकवर क्षेत्रमा पानीमा तैरिरहेको अवस्थामा रावतको शव फेला परेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।
नदीमा पानीको बहाव बढे संगै बाढीले दाउरा ल्याउने भएकाले दाउरा झिक्न गएका स्थानीय बासिन्दा संगै गएका रावत नदीमा नुहाउने क्रममा बेपत्ता भएको बताईएको छ । बेपत्ता भए देखि रावतका परिजन, स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानिय, नेपाल रेडक्रसको उद्धार टोलीले खोजी कार्य गरिरहेको थिए ।
गत आईतबारबाट परेको वर्षाले महाकालीमा पानीको बहाव बढेको छ । नदीमा पानी बढे संगै बाढीले बगाएर ल्याएको दाउरा झिक्न जानेको घुईचो लाग्ने गर्दछ । यस अघि, महाकाली नदीमा झिक्ने क्रममा र नुहाउने क्रममा डुबेर धेरैको ज्यान गइसकेको छ ।