महाकालीमा पानीको बहाव बढ्दै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

महाकालीमा पानीको बहाव बढ्दै



कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । पहाडी जिल्लामा भारी बर्षा भएका कारण महाकालीमा पानीको वहाव बढ्दै गएको हो ।

बुधबार साँझ ६ बजेसम्मको मापन अनुसार कञ्चनपुरमा महाकालीको २ लाख १५ हजार क्यूसेक पानीको बहाव पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले महाकाली नदीमा पानीको बहाव बढेसँगै नेपाल-भारत जोड्ने बनवासा पुलमा चारपाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाएको बताए ।

सवारी आवगमनमा रोक
उनका अनुसार बुधबार दिउँसो २ बजेदेखि भारतीय पक्षले पुल सुरक्षाको कारण देखाउदै पुलमा आवागमन बन्द गराएको हो । ‘पैदल, साईकल र मोटरसाइकल बाहेकका ठुला सवारी साधनमा रोक लगाएको छ ।’ उनले भने, ‘अत्यावश्यक सवारी साधनलाई समन्वय गरेर पठाउने गरेका छौँ ।’ पुलमा ठुला चारपाङ्ग्रे सवारी साधनमा रोक लगाएपछि भारतीय नेपाल र नेपाली भारतमा समस्यामा परेका छन् ।

सुरक्षा निकाय हाइअलर्ट
परीगाउँ क्षेत्रमा पानीको वहाव बढ्को खबर पाएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडका सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखले महाकालीको स्थलगत अनुगमन गरेका छन् ।
कञ्चनपुरको महाकाली क्षेत्रको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी खडकाले पहाडी जिल्लामा परिरहेको बर्षा र त्यसले कञ्चनपुरमा पार्ने असर बारे कञ्चनपुरको सुरक्षा निकाय हाईअलट अवस्थामा राखेको बताए ।

राती भरी जाग्राम
महाकालीमा पानीको वहाव बढेपछि तटीय क्षेत्रका स्थानीय त्रसित भएका छन् । भीमदत्त नगरपालिका १२ ओदालीका स्थानीय पदम विकले महाकालीमा पानी बढेपछी राती जागराम बस्ने गरेको बताए । ‘कतिखेर घरखेत बगाएर लग्ने हो, थाहा छैन्, ‘उनले भने, ‘डरले हामी पानी नघटुन्जेल जाग्राम बस्छौँ ।’ गत साता अविरल रुपमा परेको बर्षातका कारण भीमदत्त नगरपालिका–१२ ओदालीमा निर्माण भएको एक महाकाली तटबन्धको स्पर बगाएको थियो ।

महाकालीको पानी ३ लाख क्युसेक सम्म पुगे महाकाली पुल पुरै बन्द गर्ने भारतीय अधिकारीले जनाएका छन् । ३ लाख क्युसेक पानी खतराको उच्च संकेत भएकाले पुल बन्द गरिनेछ । महाकाली नदी नियन्त्रणका लागि गुणस्तरिय तटबन्ध निर्माण नहुँदा हरेक बर्ष बर्षातका बेला स्थानीयदेखि सरकारी निकायसम्मलाई सास्ती हुने गरेको छ ।साभार: नयाँ पत्रीका / फाइल तस्वीर :