महाअभियोग लगाएर ठिक गर्ने समय आयो:प्रचण्ड
नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायित्व र विकासको लागि सुशासन आवश्यक पर्ने बताएका छन् ।
नवलपरासीको बर्दघाटमा सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा बिहीबार सम्बोधन गर्दै प्रचण्डले विकासका लागि भ्रष्टाचारीहरुलाई जेल हाल्नुपर्ने बताए।
‘अहिले न्यायालयदेखि, कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रमा पनि बेथिति छ भन्ने सुनिन्छ’, उनले भने, ‘दुवै पार्टीको नेतृत्वमा तहमा हामीले भ्रष्ट र बेथिति गर्ने कसैलाई नछोड्ने अठोट गरेका छौं ।’ जनताले स्थायित्व र विकास खोजेको भन्दै उनले यसका लागि सुशासन नभई नहुने बताए । न्यायालयदेखि कर्मचारी र सुरक्षा संयन्त्रको बेथिति अन्त्य नगरी सफलता नपाइने उनको भनार्इ छ ।
‘न्यायालयमा बेइमानी गरेर गरिबलाई न्याय नदिने, जाली फटाहाहरुलाई पैसा लिएर न्याय दिनेहरुलाई महाअभियोग लगाएर ठिक गर्ने समय आयो । कर्मचारी तन्त्रमा बसेर अर्बौं सम्पति कमाएर महल ठड्याउनेहरुलाई जेल हाल्ने बेला आयो । सुरक्षा संयन्त्रमा बसेर सुरक्षाको काम गर्न छोडेर तस्करसँग मिलेर खानेहरुलाई जेल हाल्ने बेला आयो’, उनले भने, ‘त्यसो नगरे विकास सुशासन सम्भव छैन । भ्रष्टहरुलाई तह लगाउन नसके जनताले हामीलाई नै सजाय दिने कुरा हामीलाई थाहा छ।’
उनले आफूहरु शासितबाट शासक बन्नेतिर गएको समेत बताएका छन्।
‘अहिले वामपन्थीहरुको झन्डै दुई तिहाइ छ। संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुँदा हामी दुई तिहाइ बन्छौं’, प्रचण्डले भने, ‘दुई तिहाइ कम्युनिस्ट हुनु भनेको अब हामी शासितबाट बिस्तारै शासक बन्नेतिर गयौं ।’
प्रचण्डले दुई पार्टीको एकता प्रक्रियामा चमत्कार भएको पनि बताए। ‘एमाले र माओवादी दुई महिनाभित्रै एउटै जस्ता भए’, प्रचण्डले भने, ‘हिजो नबोल्नेहरु, मुखै नहेर्नेहरु आज एउटै थालमा खाने र एउटै ओछ्यानमा सुत्ने समेत हुनुभयो।’