गौरवमय मगर इतिहास एवं सांस्कृतिक कार्यक्रम दिल्लीमा सम्पन्न - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

गौरवमय मगर इतिहास एवं सांस्कृतिक कार्यक्रम दिल्लीमा सम्पन्न



नयाँ दिल्ली :मगर समाजको उत्थानका लागि भर्खरै गठन भएको कानुङ लाङ्घाली मगर समाज दिल्लीले  गौरवमय मगर इतिहास एवं सांस्कृतिक धरोहर विषयक कार्यक्रम  सम्पन्न गरेको छ  । दिल्ली विश्व विद्यालयको कन्फ्रेन्स हलमा सम्पन्न उक्त समारोहमा लेखिका एवं समाजसेवी ज्योति थापा मगरले नेपालको इतिहासमा योगदान दिएका मगरहरू क्षमतावान्, बौद्धिक, धैर्य वान भएकाले अगाडी बढ्नका लागि आफूमा आत्मविश्वास जगाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली दूतावासका कल्चरल काउन्सलर होमप्रसाद लुईटेलले मगर समाजले आफ्नो समुदायको बारेमा अझ धेरै अध्ययन अनुसन्धान गर्दै नेपाल-भारतको सम्बन्धलाई अझ फराकिलो पार्नेमा आशा व्यक्त गर्दै कानूङ लाङ्घाली मगर समाजले आफ्नो समाजको उत्थान गर्ने विश्वास व्यक्त गर्नु भयो । त्यसैगरि युवा नेता एवं सामाजिक कार्यकर्ता सन्दीप रानाले नेपाल एकीकरण बेला देखिनै मगरहरूको योगदानको चर्चा गर्दै उनीहरूले नेपाललाई विश्वमा चिनाउन योगदान दिएको बताउनु भयो ।

प्रथम विश्वयुद्ध, दोरुाो विश्वयुद्धमा मगर योद्धाले लडेर नेपाललाई बहादुर देशका रूपमा चिनाएको स्मरण गराउनुभयो । उहाँले वीरताको ठुलो सम्मान भिक्टोरिया क्रस पाउने मध्ये ५ वटा मगरहरुलाईनै पाइएको बताउनु भयो । उहाँले नेपाल-भारत सम्बन्धको कडी गोर्खा रेजीमेन्टमा पनि मगरहरूको योगदान उल्लेखनीय रहेको बताउनु भयो । इतिहासबाटनै हामी समाजवादको पथमा रहेको भन्दै उहाँले समाज र देशको विकास र समृद्धिका लागि इतिहासबाट सिक्दै अगाडी बढ्नुपर्ने बताउनु भयो ।

समारोहमा गायिका देवी घर्ती मगर, गायक ध्रुव राना, गायक डोलराज बारघरे मगर लगायत स्थानीय गायक-गायिकाले रमाईला प्रस्तुति दिएका थिए भने स्थानीय कलाकारहरूले पनि मगर समाजका झल्को आउने सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

फर्श थापा मगरले अध्यक्षता गरेको कार्यक्रममा समाजसेवी ज्योति थापा मगर प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको कार्यक्रममा दूतावासका कल्चरल काउन्सलर होमप्रसाद लुइँटेल विशिष्ट अतिथि, उद्यमी एवं समाजसेवी नन्दनी थापा विशिष्ट अतिथि, मुख्य वक्ताका रूपमा युवा नेता एवं सामाजिक कार्यकर्ता सन्दीप राना र विभिन्न प्रवासी सङ्घ-सङ्गठनका प्रतिनिधि र ठुलो सङ्ख्यामा प्रवासी नेपालीहरूको उपस्थिति रहेको थियो ।