माफ गर्नुस् 'प्रचण्ड' तपाईँको प्रशंसक बनिरहन सकिएन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माफ गर्नुस् ‘प्रचण्ड’ तपाईँको प्रशंसक बनिरहन सकिएन



-डायमण्ड म्याग्देली 

कुनै समय यस्तो पनि लाग्थ्यो म नै तपाईँको सबभन्दा ठुलो प्रशंसक हु । जति वेला मैले आफूलाई त्यस्तो सम्झन्थे मेरो छाती गर्वले चौडा हुन्थ्यो । राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतिकुलत र भ्रमहरूलाई छिचोल्दै अत्यन्त सुझवुझपुर्ण र साहसिक निर्णय गर्दै २०५२ साल फाल्गुन १ गते देखी तपाईँको नेतृत्वमा एेतिहासिक जनयुद्धको सुरुवात भयो। त्यसको सुरुवात सँगै क्रमिक विकाश र एकपछि अर्को राजनीतिक एवं फौजी सफलताले देश/विदेश सवैतिर तीव्र चर्चा/परिचर्चा हुन थाल्यो।यसो हुँदै गर्दा तपाईँको कुशल,चामत्कारिक र गतिशील नेतृत्व सामु शक्तिशाली दुस्मन समेट दिनप्रतिदिन हायलकायल बन्दै थियो यस्तो अवस्थामा तपाइप्रतिको विश्वास, क्रेज,जस्तोसुकै जोखिम मोल्न सक्ने खुबी, राजनीतिक गतिशीलता र तपाईँले दुनियाँ बदल्न देखाएका सुन्दर सपना सामु देशमा आमूल परिवर्तनको चाहना राख्ने जो कोही प्रभावित हुन नसक्ने प्रश्नै थिएन।

सवै खाले शोषण र उत्पीडनको अन्त्य सँगै भेदभावविहिन समतामूलक सुन्दर समाज र वर्गविहिन राज्यसत्ता निर्माणको परिकल्पना गर्दै क्रान्तिको रक्तिम यात्रामा लामवद्द हुन आतुर हजारौँ युवाहरू मध्ये १५ वर्षको कलिलो उमेरमा पढ्दै गरेको किताब खातमुनि मिल्काएर त्यै स्कुले झोलामा २ जोडा पुराना कपडा प्याक गरेर तपाईँले देखाएको सुन्दर सपनाको यात्रा तय गर्ने एक यात्री म पनि थिए। भर्खर बढ्दै पढ्दै गरेको कलिलो उमेर अपरिपक्व सोच त्यसैले आफ्नै सपना बुन्ने हैसियत त बनिसकेको थिएन, तथापि आफ्नो सन्तानको लागी बुबा /आमाको केही न केही सपना पक्कै थिए होलान् तर तपाईँले देखाएको दुनियाँ बदल्ने र सुन्दर समाज स्थापना गर्ने रङ्गिन सपनाको अगाडी बाबा/आमाका सानो सपना निरीह र फिक्का बन्नु स्वाभाविक थियो ।त्यसैले त बुबा-आमाको स्नेह आग्रह लाई बेवास्ता गर्दै संसार बदल्ने सुन्दर सपनाको महान् यात्रा तय गर्ने निर्णय गरियो।
राज्यको चर्को दमन ,दुस्मनको सक्रियता अनि क्रान्ति आफैमा राज्यसत्ता विरुद्धको जोखिमपूर्ण कदम भएकोले
कठिनाइ र चुनौतीहरू तमाम थिए । तथापि युवा जोस ।दुनियाँ बदल्ने मिठो सपना,समय समयमा दुस्मनका विरुद्ध र क्रान्तिकारी का पक्षमा सार्वजनिक हुने तपाईका   आक्रामक वक्तव्य,सर्कुलर,लेख/रचना र कोटेसन हरूले सारा कठिनाइ र चुनौतीहरूलाई धेरै टाढा धकेलिदिन्थ्यो। नयाँ उत्साह,ऊर्जा र गतिशीलता बढ्थ्यो। क्रान्तिप्रति अझै प्रतिबद्ध र जुझारु हुन प्रेरित गर्थ्यो त्यति वेला सम्म कहिल्यै कल्पना गरिएन कि क्रान्तिको त्यो महान् यात्रा कहाँसम्म पुग्छ भनेर ।

न त कुनै निजी स्वार्थ थियो न कुनै व्यक्तिगत उद्देश्य र सपना।उद्देश्य थियो त केवल जनताको जनवादी सत्ता निर्माण गर्ने तर समयको चक्र सधैँ एकैनास कहाँ चल्दो रहेछ र परिस्थितिको प्रभाव भनौ या नियति २०६१ मा बाबुराम भट्टराई सँग अन्तर विरोध चुलिनु ,लगत्तै छिमेकी देशको झन्डै ८ वर्ष लामो सेल्टर असुरक्षित हुनु।त्यही कारण नेपाल मै केन्द्रीय आधार इलाकामा सेल्टर सिफ्ट हुनु तर दुस्मनले तीव्र स्थल अप्रेसन,हवाई गस्ती र हेलिकप्टरवाट नजिक नजिक वमवार्ड गर्न थालेपछी तपाई भित्र आत्मसुरक्षावादी चिन्तनले डेरा जमाएको वैचारिक राजनीतिक विचलनको बाटोतिर मोडिन थालेको कुरा पछिल्ला घटनाक्रमले पुष्टि गर्दै गयो ।यद्यपि जनयुद्ध आफ्नो लयमा अगाडी बढिरहेकै थियो त्यही बिचमा २०६२ मा तत्कालीन सांसदवादी सात राजनीतिक दलसङ भएको १२बुदें दिल्ली सम्झौता २०६२/२०६३को जनआन्दोलन, त्यसपछि गिरिजा प्रसाद कोइरालाको नेतृत्त्वमा गठित तत्कालीन सांसदवादी सात राजनीतिक दलको सरकार सँग विस्तृत शान्ति सम्झौताको नाममा जसरी जनयुद्धको अन्त्य भएको घोषणा सँगै जनयुद्धवाट प्राप्त जनसत्ता,जनअदालत, जनमुक्ति सेना लगायतका सम्पूर्ण उपलब्ध लाई केवल सत्ता, शक्ति , निजी स्वार्थ र कुर्चीको लागी लिलाम गरियो तत्पश्चात् क्रान्तिको उल्टो यात्रा सुरु भयो।

तपाईँको नियतमा शङ्का गर्ने ।क्रान्तिकारी छविमा खोट देख्ने कुरा स्वाभाविक बन्न पुग्यो।जनयुद्धको उद्देश्य माथि घात हुदैंछ।सपनाहरूको निर्ममतापूर्वक हत्या हुदैंछ भन्ने बदलिएको गतिविधि.,घटनाक्रम र परिणामहरूले पुष्टि गर्दै थियो। तथापि तपाईँको मुखारविन्द वाट क्रान्ति भन्ने शब्दको उच्चारण। क्रान्तिलाई पूर्ण बनाउनकै लागी यो नयाँ प्रयोग गरिँदै छ भन्ने सन्देश सम्प्रेषण भई रहन्थ्यो तर परिणामले त्यो दाबीलाई पुष्टि गर्न सक्ने आधार थिएन।यद्यपि तपाईँ सबै विकल्प हरूको प्रयोग गर्दै जोखिम मोलेर फेरी नयाँ कदम चाल्न माहिर नेता हो भन्ने छाप मानसपटलमा बसिसकेको थियो त्यसैले सुधार्ने र क्रान्तिकै बाटोमा फर्कने झिनो आशा जीवित थियो तर ओरालो यात्रा रोकिएन, पहिलो संविधान सभाको विघटन, जनसेना प्रमाणीकरण को नाममा  ४  हजार बढी योद्धाहरूको अयोग्य भनी अपमान ,समायोजन र स्वैच्छिक अवकाश को नाममा जनमुक्ति सेनाको पुर्णत विघटन, सहिदका रगत सँग सुतिएका हतियार राज्यलाई हस्तान्तरण , दोस्रो संविधान सभाको निर्वाचन पश्चात् गठन भएको संविधान सभाबाट जनयुद्धको “ज ” सम्म पनि उल्लेख नगरी प्रतिगामी,जनविरोधी संविधान निर्माण हुँदै अहिले जनयुद्धको सारा उपलब्धि,आदर्श,मूल्य मान्यतालाई रड्डीको टोकरीमा मिल्काएर आफ्नो निजी जीवनको रक्षा र राजनीतिक संरक्षणको लागी नव एमाले बन्न पुगेको एक खल पात्रको सारथि बन्न कहाँ सकिन्थ्यो र.…!

हुन त आज म र म जस्तै अन्य योद्धाहरू प्रशंसक नहुँदैमा तपाईँको लागी के नै फरक पर्छ र शान्ति प्रक्रिया मा आईसकेपछी दिन दुगुणा रात चौगुनाका दरले तपाईकन प्रशंसक बढिरहेका छन् । जसले जनयुद्धमा योद्धा हरूलाई एक छाक भात खुवाउनु परेन। एक दिन पनि झोला बोकेर हिँड्नु परेन। कुनै भूमिका खेल्नु परेन,कुनै प्रकारको सहयोग र योगदान दिनुपरेन तिनीहरू नै अहिले अग्र पङ्क्तिमा प्रशंसक छन् ।  जसले आज तपाइका काला कर्तुतहरूको ढाकछोप गर्ने र त्यसको बदलामा आफ्नो स्वार्थको थैली भर्ने, दुनो सोझ्याउने व्यवसाय चलाई रहेका छन् । तिनीहरू नै अव तपाईकन लागी प्रिय र योग्य छन् । तर आफू त्यस्तो कुपात्र बन्न कहिल्यै सकिएन त्यसैले “सिधा कुरा प्रस्ट विचार ” हिजो क्रान्ति गर्दा साथ र आज गद्दारी गर्दा धारे हात नै हो अरू जानिँदैन, हिजो वर्ग सङ्घर्षको सुरुवात गरेर आज वर्ग समन्वय गर्ने । क्रान्तिकारी हरूलाई बाइपास गरेर संशोधनवादी हरूसँग घाँटी जोड्ने । दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्य गर्ने प्रण गरेर आज त्यही व्यवस्थामा डुबुल्की मार्न पुग्ने ।सर्वहारा वर्गको मुक्तिको लागी लड्ने उद्घोष गर्ने तर आफै कुलिन नवधनाढ्य वर्गमा रूपान्तरण हुने। निजी सम्पत्ति ,निजी पारिवारिक जीवनको अन्त्य र सामूहिक जीवनको सपना देखाउने तर आफै चरम नातावाद ,परिवारवादमा फस्ने।  अथाह सम्पत्ति र सुविधा सहित अति विलासिपुर्ण निजी जीवनमा फर्कने ?यति सजीव चित्र आँखा अगाडी घुमिरहँदा अझै प्रशंसक बनेर जनयुद्ध र सहिदको अपमान गर्ने कुरा सोच्न सम्म पनि असम्भव थियो ।

आज क्रान्तिको प्रक्रियावाट तपाईँ विचलित भए पनि जनयुद्धको उद्देश्य,सहिद, बेपत्ता, घाइते, अपाङ्ग र जनयुद्धमा सहभागी हजारौँ कार्यकर्ता र जनताका सपना का प्रश्नहरू तपाईँ प्रति तेर्सिइरहने छ । तपाईँ विलासीपुर्ण निजी जीवनमा रमाईरहदा जनयुद्धको वेला आफूले आधा पेट खाएर तपाईँ हाम्रो भोक. प्यास मेटाउने गरिब जनता, दुई मुठी च्युरा/सातु र एक टुम्लेट पानीको भरमा कैयौँ रात लडाई लडेका साहसिक योद्धा र तिनको परिवारलाई आज पनि २ छाक जुटाउन,एकसरो लगाउन र बिरामी पर्दा सामान्य उपचार गर्न उस्तै कठिन छ,जनयुद्धका घाइतेहरूको उपचार अभावमा कतिको देहान्त भइसक्यो ,कति अझै शरीर भरी बमका छर्रा र गोली बोकेर छट्पटिदै मृत्यु सँग कठिन सङ्घर्ष गरिरहेका छन् । सहिद परिवार र गरिब जनताको अवस्था नाजुक छ ।जनयुद्ध के थियो भनेर नचिन्ने। कुनै साइनो सम्बन्ध नभएका अवसरवादीहरू आज तपाईँको वरिपरि झुम्मिएर जनयुद्धको नाममा नाजायज लाभ लिईरहदां युद्धकै क्रममा सहिद बनेका डिभिजन कमान्डर क.सुनिलका छोरा लगायत हजारौँ सहिदका सन्तति, युद्धमा योगदान गर्ने योद्धाहरू आज जीवन गुजाराको लागी मरुभूमिको ५५ डिग्री तापक्रममा बालुवा चाल्न विवश छन् । यस्तो दृश्य देख्दा देख्दै कुन क्रान्तिकारी योद्धाको मन ले मान्छ होला लालगद्दारको सारथि बन्न र साक्षी बस्न ।

अन्तमा जनयुद्धको उद्देश्य,मूल्य,मान्यता,हजारौँ सहिद,बेपत्ता,घाइते अपाङ्ग,लाखौँ कार्यकर्ता र आम जनताको सपनामाथि घात गर्ने लाल गद्दारहरूवाट उचित मूल्य चुक्ता हुने नै छ। साथै जनयुद्धले जन्माएका सपना पुरा गर्न बामे सर्दै गरेको अर्को क्रान्ति र नेतृत्व विरुद्ध षड्यन्त्र र दमन गर्दै गद्दारीको अर्को श्रृंखला नदोहोर्याउन विशेष आग्रह छ।