भेनेजुएलामा अमेरिकी हतियारधारी पक्राउ, मादुरोलाई मार्न पठाएको आरोप - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भेनेजुएलामा अमेरिकी हतियारधारी पक्राउ, मादुरोलाई मार्न पठाएको आरोप



एजेन्सी- भेनेजुएलामा १३ आतंकवादीलाई सरकारी सेनाले नियन्त्रणमा लिएको राष्ट्रपति निकोलस मादुरोले सोमबार बताएका छन्।

राजधानी कराकसमा पक्राउ परेका १३ हतियारधारीमध्ये २ अमेरिकी नागरिक पनि भएको सरकारले जनाएको छ।

आइतबार ती हतियारधारीहरु डुंगा चढेर ला ग्वाइरा प्रवेश गरेका थिए। तर बीचमै उनीहरुलाई भेनेजुएलाका सेनाले नियन्त्रणमा लिन सफल भए।

जवाफी कारवाहीमा ८ आतंकवादीको मृत्यु हुँदा १३ पक्राउ परेका हुन्। यस घटनालाई राष्ट्रपति मादुरोले सत्ता हत्याउने प्रयासको रुपमा हेरेका छन्।

मादुरोले सोमबार टेलिभिजन सम्बोधनका क्रममा भने,‘अमेरिका र कोलम्बियाले मलाई मार्न चाहन्छन् र उनीहरुले चाहेका व्यक्ति सत्तामा रहोस् भन्ने चाहन्छन्।’

आतंकवादीको प्रयासलाई आफूहरुले विफल बनाएको बताउँदै मादुरोले हालै विफल भएको अभियानमा सहभागी हतियारधारीहरुले कोलम्बियामा प्रशिक्षण गरेको आफूसँग प्रमाण भएको बताए।

तर अमेरिका र कोलम्बियाले भने मादुरोको भनाइमा सत्यता नभएको प्रतिक्रिया जनाएको छ। यस घटना पश्चात हाल भेनेजुएलाले आफूले २५ हजार विशेष सेना आतंकवादीविरुद्ध परिचालन गरेको जानकारी दिएको छ।

यसबीचमा भेनेजुएलाका विपक्षी नेता हुवा गोइदोले यस घटनामा आफ्नो संलग्नता नभएको बताएका छन्। मादुरोले धाँधली गरेर चुनाव जितेको भन्दै विपक्षी नेता गोइदोले सन् २०१९ को जनवरी महिनामा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

अमेरिका, युरापेली राष्ट्रहरु सहित ६० बढी मुलुकले गोइदोलाई नै राष्ट्रपति मानेपछि त्यहाँ तनाव उत्पन्न भएको छ। मादुरोले अमेरिकासँगको कुटनीतिक सम्बन्ध त्यसै समय तोडिदिएका थिए।