अब मदिरा पिउनेलाई कडा नियम - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

अब मदिरा पिउनेलाई कडा नियम



बिर्तामोड : झापामा अब मदिरा किनबेचमा कडाइ गरिएको छ । आगामी माघ १ गतेदेखि यहाँ मदिरा किन्दा वा बेच्दा परिचयपत्र अनिवार्य गर्ने तयारी भएको हो ।

मेलापर्व, कार्यक्रम र कन्सर्टहरुमा समेत मदिरा किन्न वा बेच्न पहिले झैँ पाइने छैन । झापाका १५ वटै स्थानीय तहका जनप्रतिनिधि, प्रहरी र कानुन व्यवसायीले झापालाई आगामी माघ १ देखि मदिरा नियन्त्रित जिल्ला बनाउने अभियानको रुपमा यस्तो अभियान सुरु गरेका हुन् । मदिरा किनबेच गर्नका लागि निश्चित उमेर, समय र परिचयपत्र लागू गर्ने भन्दै नियममा कडाइ गर्न लागिएको हो ।

समाजमा हुने आपराधिक कृयाकलाप तथा सडक दुर्घटना बढाउने मुख्य कारक नै मदिरा भएको भन्दै यसको कारोबारमा कडाइ गर्न लागिएको बताइएको छ । बुधबार भएको एक अन्तरक्रियामा सम्बन्धित निकायका अधिकारीहरुले मदिरामा कडाइ गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यस क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीम प्रसाद ढकालले मदिरा नियन्त्रण गर्न सके समाजका ९० प्रतिशत अपराध घट्ने दावी गरे । साथै यो अभियानमा सबै स्थानीय तहको पनि साथ रहेकाले झापालाई मदिरा नियन्त्रित नमुना जिल्ला बनाउन सकिने विश्वास व्यक्त गरे । साथै विद्यमान कानुन कार्यन्वयन गर्न सबै स्थानीय तहले सामुहिक प्रतिबद्धता जनाएका थिए ।

यस्तै मदिरा बिक्रीका लागि स्थानीय प्रशासन वा तहबाट स्विकृति दिने, मेला, कार्यक्रम वा कन्सर्टहरुमा मदिरा बिक्री वितरण निषेध गर्ने र मदिरा नियन्त्रण अनुगमन समिति बनाई अनुगमन गर्ने लगायत १२ बुँदे नियम समेत सार्वजनिक भएको छ ।

मदिरा नियन्त्रणका लागि आजबाटै अभियान सुरु भएको भन्दै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सबै निकायलाई यसमा सक्रिय हुन आग्रह गरे ।झापाका १५ वटै स्थानीय ताहले आपसी समन्वय गरी कम्तिमा एउटा सुधार तथा पनःस्थापना केन्द्र स्थापना गर्ने तयारी भएको पनि बताइएको छ ।