निर्वाचन अवधिभर मदिरा निषेध
बझाङ- स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बझाङमा मदिरा निषेध गरिने भएको छ ।
निर्वाचन आचारसंहिता पालना गराउन र शान्ति सुरक्षालाई मध्यनजर गर्दै निर्वाचन अवधिभर अब जिल्लाभरी मदिरा निषेध गर्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म मदिरा पूर्णरुपमा निषेध गर्ने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार चुनावी अभियानका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खल्बल्याउने र निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्ने भएकाले मदिरा बिक्री वितरण तथा ओसारपसारमा रोक लगाउने निर्णय गरिएको हो । उनले सरोकारवालाले चुनाव प्रचार–प्रसारका क्रममा दलहरूले आचारसंहिताविरुद्धका कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रहसमेत गरेका छन् ।
दलका सभा–सम्मेलनमा बालबालिकाको प्रयोग, सार्वजनिक ठाउँमा दलका झण्डालगायत उम्मेदवारका प्रचार सामग्री भेटिन थालेकाले निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आग्रह गरिएको हो ।