पार्टी एकता नहुने देखेपछी मधेशी दल फकाउँदै ओली ! - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

पार्टी एकता नहुने देखेपछी मधेशी दल फकाउँदै ओली !



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यतिवेला राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि आन्तरिक गृहकार्य थालेका छन् ।

प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उनले चाँडै नै राजपा र फोरम नेपालका नेताहरुसँग यसबारेमा छलफल तथा सम्वाद अघि बढाउने छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग एकता केही विलम्ब हुने भनिएपनि खासमा प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय राम्रो सम्बन्ध नरहेको बुझिएको छ । उनीहरुबीच त्यति गम्भिर छलफल तथा सम्वाद नै हुन छाडेको स्रोतको दाबी छ ।

ओलीले आफू सुरक्षित रहनको लागि पनि राजपा र फोरमलाई सरकारमा ल्याउनेबारे छलफल सुरु गरेका छन् । ढिलो वा चाँडो राजपा र फोरमलाई सरकारमा ल्याउनको लागि ओलीले सोही अनुसारको कदम चाल्न सक्ने सूत्रहरुको दाबी छ ।

ओलीले यसअघिपनि फोरम नेपाललाई सरकारमा सहभागी गराउने निर्णय गरेका थिए । उनले महत्वपूर्ण दुई मन्त्रालय समेत फोरमको लागि छुट्याएका थिए । तर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा लिखित सहमति खोजेपछि सरकारमा सहभागी हुने फोरमको तयारीमा ब्रेक लागेको थियो ।

त्यस्तै ओलीले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँगपनि यस विषयमा छलफल नगरेका होईनन् । तर, राजपाले तत्काल आफूहरुको प्राथमिकता संविधान संशोधन भएकोले अहिले नै सरकारमा सहभागी हुन कुनै हतारो नभएको बताउँदै आएको थियो ।