नेपालले भने: बालकोटमा ओलीको बेहाल छ, कसैले उपचार गरिदिनुस्
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।
प्रधानमन्त्रीबाट निकालेको पीडा खेप्न नसकी ओली तथानाम गालीगलौजमा उत्रिएको उनको भनाइ छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओलीले आफूले गज्जब काम गरेको भनेर ‘गुड्डी हाँक्दै हिँडेको’ पनि बताए ।
ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरूले अलग पार्टी बनाएको उनले उल्लेख गरे । उनले आफ्नो समूहमा कोहि डाक्टर भए ओलीको उपचार गरिदिन आग्रह समेत गरेका थिए ।
‘‘बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने, प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको । पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ । तपाईंहरूमध्ये कोही डाक्टर भए उपचार गरिदिनुभए हुन्छ । विचराको त्यो हालत,’’ उनले भने, ‘‘बालुवाटारबाट बालकोट पुग्नेबित्तिकै भुक्नुपरेछ । कारण के हो भन्दाखेरी उनमा दम्भ सवार हो त्यो । व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । मभन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो । उनमा दम्भी नेताको विशेषता देखियो ।’’
अध्यक्ष नेपालले ओलीले राप्रपाका नेताहरूलाई प्यारो ठान्ने गरेको टिप्पणी पनि गरे । पार्टीभित्र ‘केपी बा’ भन्नेहरूलाई मात्रै ओलीले संरक्षण गर्ने गरेको उनले बताए । उनले पार्टीका नेता, कार्यकर्तालाई ओली दम्भी भएको भन्दै त्यस्तो नबन्न पनि पटकपटक सचेत गराए ।