माधव नेपाललाई शङ्कर पोखरेलको साथ - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

माधव नेपाललाई शङ्कर पोखरेलको साथ



काठमाडौं – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले माधव नेपालको प्रस्तावको समर्थन गरेका छन् । नेपालको सीमामा काँडेतार लगाउन भन्दै नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव नेपालले गरेको प्रस्तावमा उनले समर्थन जनाएका हुन् ।

पार्टीका विदेश विभाग प्रमुख समेत रहेका माधवकुमार नेपालले सीमामा काँडेतार लगाउने प्रस्ताव गरेका थिए । सोहि प्रस्तावलाई समर्थन गर्दै पोखरेलेले नेपाललाई धन्यवाद समेत दिएका छन् ।

सामाजिक सञ्जालमा उनले कोभिड–१९ को महामारीकाविरुद्धको लकडाउन र सिमा नाका बन्द गर्ने सरकारको निर्णय कार्यान्वनमा देखिएको चुनौतीले पनि खुला सिमाको जटिलता महसुस गराएको बताए ।

‘पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपालले सिमानामा काँडेतार लगाउन प्रस्ताव गर्नुभएको सुन्दा खुसी लाग्यो,’ पोखरेलले भनेका छन् ।

उनले नेपालमा कोभिड १९ का संक्रमितहरु बढ्नुको मुख्य कारण असुरक्षित तरिकाले सिमापारीवाट लुकिछिपी आउनु भएको बताएका छन् । ‘भंसारविन्दुका नाका बाहेक अरू ठाउँबाट आउजाउ रोकिने अवस्था रहेकोभए कोभिड– १९को संक्रमण नियन्त्रण गर्न सहज हुने थियो’, उनले भनेका छन् ।

सीमा क्षेत्रका जनताको सुविधाका लागि आउजाउका नाका थपगरेर भए पनि नेपाल–भारतबीचको सिमानामा तारबार गर्नु आवश्यक रहेको उनको निष्कर्ष छ ।

‘नेपाल भारत बीचको सिमा समस्याको समाधानका सन्दर्भमा हुने वार्तामा यसलाई पनि महत्वपूर्ण एजेण्डा बनाइनु पर्दछ । सामयिक र दूरगामी महत्त्वको प्रस्तावका लागि वरिष्ठ नेता माधव नेपाललाई हृदय देखिनै धन्यवाद !,’ उनले भनेका छन् ।