माधव नेपालले पूर्वराजालाई भने पुरानो व्यवस्था फेरि फर्काउने सपना नदेखे हुन्छ

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधानविपरीत चल्न थालेको भन्दै आलोचना गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गन्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै नेता नेपालले पार्टी चलाउनका लागि विधि र पद्धति निर्माण गर्नुपर्नेमा जोड दिए ।
एकीकरण टुंग्याउने नाममा जथाभावी कमिटी गठन गरे समस्या निम्तने बताउँदै उनले यस्तो कामले कार्यकर्तालाई निराश बनाउने उल्लेख गरे ।
नेता नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो व्यवस्था फेरि फर्काउने सपना देखेर सलबलाउन थालेको भन्दै सजग बन्नसमेत आग्रह गरे ।
उनले नेपालको राजनीतिक आन्दोलनमा मजदुरहरुको ठूलो योगदान रहेको पनि बताए ।

