देउवा र प्रचण्डले गरे माधव नेपालको प्रशंसा - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

देउवा र प्रचण्डले गरे माधव नेपालको प्रशंसा



काठमाडौं- विपक्षी गठबन्धनले शनिवार काठमाडौंमा गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा नेताहरू आक्रोशित मूडमा थिए । खासगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग नेताहरू रुष्ट देखिन्थे ।

नेताहरू संसद पुनर्स्थापना गर्ने पूर्ण विश्वस्त थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त कांग्रेस सभापति देउवा केहिदिनमै प्रधानमन्त्री बन्ने बताएका थिए । एमालेका वरिष्ठ नेता माधव नेपालले ओलीले प्रधानमन्त्री बन्न अफर गरेको बिषयमा खुलासा गरेका थिए ।

अन्तरक्रियामा प्रचण्डले राष्ट्रपतिको बारेमा बोल्ने पाइन्न भन्ने ओली को हुन् भन्दै आक्रोश पोखेका थिए । देउवाले राष्ट्रपतिले आफ्नो मर्यादा घटाएर ओलीको कार्यकर्ता बन्न रुचाएको बताए । त्यस्तै उपेन्द्र यादवले देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश दिने दाबी गरे ।

माधव नेपालको प्रशंसा

कार्यक्रमामा नेपाली कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको खुलेर प्रशंसा गरेका छन् । नेपालले अन्यायको खिलापमा लडेको देखि रियल लिडरसम्मको प्रशंसा पाए ।

कांग्रेसको नेतृत्वमा रहेको विपक्षी गठबन्धनले शनिवार काठमाडौंमा गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा देउवा र प्रचण्डले नेपालको प्रशंसा गरेका हुन् ।

‘माधवजी साँच्चिकै लडाकु मित्र हो, माधवजीलाई हामीबाट कुनै धोका हुँदैन । माधव नेपालजीको नेतृत्वमा डेमोक्र्याटिक एमाले पार्टी बन्छ भन्ने विश्वास छ, उहाँ अन्यायको खिलापमा उठ्नुभयो,’ देउवाले भने ।

अध्यक्ष प्रचण्डले नेकपा एमालेभित्र खास नेता माधव नेपाल भएको जिकिर गरे । ‘एमालेको रियल लिडर माधवजी हुनुभएको छ, केपी खस्किँदै छन्,’ प्रचण्डले भने ।

प्रचण्ड र देउवाभन्दा अगाडि बोलेका नेता नेपालले हस्ताक्षर फिर्ता लिने वा अदालतबाट ‘ब्याक’ हुने गरी धोका नहुने बताएका थिए । ‘माधव नेपाल धोका दिने मान्छे होइन, हस्ताक्षर फिर्ता गर्ने, सर्वोच्चबाट पछाडि हट्नेवाला छैन । लोकतन्त्र जोगाउने गठबन्धनमा प्रतिबद्ध छौं,’ नेता नेपालले भने ।