प्रदेश २ मा माधव नेपालको बलियो पकड, ओलीको पक्षमा जम्मा ८ जना - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

प्रदेश २ मा माधव नेपालको बलियो पकड, ओलीको पक्षमा जम्मा ८ जना



काठमाडौं- नेकपा एमाले विभाजन भएर नेता माधव कुमार नेपालले नेकपा एमाले समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि दुई समूहबीच शक्तिको लेखाजोखा भैरहेको छ । एमालेमा नेपाल नेतृत्वमा नयाँ दल गठनको ठुलो असर देशैभर पर्ने देखिएको छ।

यस्तै प्रदेश २ मा माधव नेपाल राजनीतिक रूपमा बलियो अवस्थामा देखिएका छन् । प्रदेशमा ओली नेतृत्वको एमाले भने अत्यन्त कमजोर देखिएको छ । माधव पक्षमा १३ जना प्रदेशसभा सदस्य छन् भने ओलीको पक्षमा ८ जना प्रदेशसभा सदस्य छन्।

नेकपा छँदा १ सय ७ सदस्यीय प्रदेशसभा अहिले १ सय ४ सदस्य मात्र छन्। नेकपा विभाजित हुँदा ३ जना प्रदेशसभा सदस्य एमालेमा लागेपछि माओवादी केन्द्रले कारबाही गरेको थियो। एमाले विभाजन हुनुअघि प्रदेश २ प्रदेशसभामा एमालेका २१ जना प्रदेशसभा सदस्य थिए। एमाले विभाजित भएपछि प्रदेश २ को प्रदेशसभामा नेपाल पक्ष मजबुत स्थितिमा छ।

प्रदेश सभा सदस्यमा एमालेबाट निर्वाचितमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेंची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु नेपाल समूहमा लागेका छन्। ओली नेतृत्वको एमालेमा सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद रहेका छन्।

प्रदेश २ बाट एमालेका ३२ केन्द्रीय सदस्य छन्। यीमध्ये १६ जना ओली समूहमा छन् भने १६ जना माधव समूहमा लागेका छन्। एमालेको प्रदेश कमिटीमा भने माधव समूह मजबुत स्थितिमा छ। एमालेको १ सय सदस्स्यीय प्रदेश कमिटीमा ६० जना माधव समूहमा छन् भने ४० जना ओली समूहमा।

त्यस्तै प्रदेश २ का ८ जिल्लामध्ये ६ जिल्लामा माधव समूह मजबुत स्थितिमा छ। ५ वटा जिल्लाको नेतृत्वमा माधव समूहले गरिरहेको छ। यस हिसाबले माधव समूहले दर्ता गराउन लागेको नेकपा एमाले समाजवादी प्रदेश २ मा मजबुत स्थितिमा देखिएको छ।

नेपालको नेतृत्वमा दल बनेपछि प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि २१ दिनभित्र कुन दलतर्फ लाग्ने स्पष्ट पार्नुपर्ने अध्यादेशमा व्यवस्था गरिएको छ। समग्र प्रदेशका विषयमा ओली वा माधव नेपालमध्ये कसको नेतृत्वको दल मजबुत रहने कुराको विषयमा बोल्नु हतार हुने प्रदेश २ का नेताहरु बताउँछन्। यद्यपि दुवै समूहका नेताहरु आ–आफ्नो पक्ष मजबुत रहेको दावी गर्दै आइरहेका छन्।