ओलीले माधव धोकेवाज छन् भनेपछि प्रचण्डको जवाफ: तपाईंभन्दा धेरै ठिक छन्
काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटमा माधव नेपालको ‘चरित्र’लाई लिएर बहस भएको छ।
पार्टी विवाद चुलिएर स्थायी कमिटी बैठकमा एजेन्डा बनेपछि संकट समाधानमा केन्द्रित रहेर बुधबार छलफलमा जुटेका प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच वरिष्ठ नेता नेपालको राजनीतिक चरित्रमाथि विवाद भएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।
भेटवार्तामा प्रधानमन्त्री ओलीले नयाँ समझदारीका लागि पहिले वरिष्ठ नेता नेपालसँगको सहकार्य तोड्न प्रचण्डसमक्ष प्रस्ताव राखेको स्रोतले जनाएको छ । ‘तपाईंले कति चिन्नुभएको छ, माधव नेपाल धेरै धोकेबाज छन्, तपाईंले पछि धोका खाएपछि चाल पाउनुहुनेछ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसकारण उनीसँगको सहकार्य तोड्नुस्, तपाईं र म नयाँ समझदारीका साथ अगाडि बढौँ ।’ तर, ओलीले त्यस्तो नयाँ समझदारीबारे भने कुनै ठोस प्रस्ताव गरेका थिएनन्।
अध्यक्ष प्रचण्डले भने आफू लामो समयदेखि नेपालसँग परिचित रहेको र पञ्चायत कालदेखि नै सहकार्य गरेको प्रसंग कोट्याएर नेपालको बचाउ गरेका थिए । प्रचण्डले तपाईंबाट अहिले धोका पाइसकेकाले भविष्यको चिन्ता नगर्न पनि ओलीलाई सुझाएका छन्।
‘मैले उहाँ (नेपाल)लाई चिनेको ३५ वर्ष भइसक्यो, तपाईं त त्यतिवेला जेलमै हुनुहुन्थ्यो, हामीले सँगसँगै मिलेर शिक्षक, विद्यार्थी र मजदुर आन्दोलन उठाउनका लागि योजना बनाएका थियौँ, अरू धेरै जान्दिनँ, तर उहाँ तपाईंजस्तो रिजिक्टचाहिँ हुनुहुन्न,’ प्रचण्डको जवाफ थियो, ‘तपाईंले पार्टी एकतादेखि धोका दिएको–दियै हुनुहुन्छ, भविष्यमा धोका हुन्छ भनेर उल्टै मलाई सम्झाउनुहुन्छ । यसो गर्नुको कुनै अर्थ छैन।’
प्रचण्डले नेपालसँग व्यक्तिगत रूपमा नभई राजनीतिक–वैचारिक सहकार्य भएकाले सबै निर्णय पार्टी कमिटीले गर्ने दोहो-याएपछि ओलीले आफूले स्थायी कमिटीको निर्णय नमान्ने चुनौती दिएका थिए।
स्रोतका अनुसार ओलीले कारबाही गरेर देखाउनसमेत प्रचण्डलाई चुनौती दिएका छन् । ‘मेले भनेको मान्नुहुन्न भने तपाईंहरू सकेको गर्नुस्, म बैठकमा पनि आउन्न, निर्णय पनि मान्दिनँ, कारबाही गर्ने भए कारबाही गर्नुस्।’