माधव नेपाललाई अमेरिकाबाटै ओलीको काउन्टर - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

माधव नेपाललाई अमेरिकाबाटै ओलीको काउन्टर



प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध आक्रामक रुपमा उत्रेका वरिष्ठ नेता माधव कुमार नेपालले दिएको अभिव्यक्तिको ओली पक्षले खोलेर विरोध गरेको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला वरिष्ठ नेता नेपालले स्थायी समितिको बैठक बोलाएपछि पार्टी भित्र विवाद बढेको छ । सरकारको कार्यशैलीप्रती नेपाल समुहले चर्को आलोचना गरेपछि ओली समुह त्यसको प्रतिवादमा उत्रेको छ । प्रधानमन्त्री ओली निकट दुई जना नेताहरु विष्णु रिमाल र राजन भट्टराईले नेपाल समुहले सुरु गरेको गुटवन्दीको सामाजिक संजालमा विरोध गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै अमेरिकामा रहेका उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेता नेपालले ‘आफ्नै पतनको सुरुवात गरेको’ भन्दै कटाक्ष गरेका छन् । रिमालले शुक्रबार बेलुका ट्वीटरमा लेखेका छन्, ‘मानिसको पतन त्यस समय सुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरू गरिन्छ ।’

त्यस्तै ओलीका विश्वासपात्र मानिने नेकपाका केन्द्रिय सदस्य डाक्टर राजन भट्टराईले पनि नेपाल पक्षको गतिविधिलाई सरकारको विकल्प खोज्ने प्रयत्नका रुपमा ब्याख्या गरेका छन् । भट्टराईले शनिवार विहानै ट्वीटमा लेखेका छन्, ‘सामाजिक क्षेत्रमा देखापरेका समस्या र विकास निर्माणले चाहे जति गति लिन सकेन भन्ने नाममा सरकारको विकल्प र अझ कतिपयको वैकल्पिक राजनीतिको खोजी धमिलो पानीमा माछा मार्न खोजेको भन्दा बढी के होला र ?’