माधव नेपाल भन्छन्: ओलीले न्यायालयमा अनावश्यक हस्तक्षेप गरिरहेका छन्
धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक रुपमा न्यायालयमाथि हस्तक्षेप गरिरहेको बताएका छन्।
नेता नेपालले केपी ओलीले विभिन्न बखेडा झिकेर न्यायालयलाई बदनाम गर्न खोजेको बताए। ओलीले यसअघि पनि न्यायालयलाई बदनाम गराएको उनको आरोप छ।
कञ्चनपुरस्थित नेकपा एसको पार्टी कार्यालय बिहीबार उद्घाटन गर्न धनगढी विमानस्थगल पुगेका अध्यक्ष नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनमा छलफल नै नभएको बताए।
त्यस विषयमा गठबन्धनसँग कुनै छलफल नै नभएको बताउँदै अध्यक्ष नेपालले भने, ‘हामीले महाअभियोगबारे छलफल पनि गरेका छैनौँ। म बाहिरको बाहिरै छु। हाम्रो पाँच दलको बैठक पनि बसेको छैन।’
केही दिनअघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने सबै न्यायाधीशको राजीनामा माग गरेका थिए। तर नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए। ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको अध्यक्ष नेपालको भनाइ छ।
अध्यक्ष नेपालले आफ्नो पार्टी नेता प्रधान नभई नीति प्रधान भएको बताए। उनले भने, ‘पार्टी नेताको लहडमा चल्ने होइन। नीतिअनुसार चल्नुपर्दछ। हाम्रो पार्टी नीतिअनुसार नै चल्छ।’
अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन नजिकै आइरहेकाले सम्पूर्ण पार्टी पङ्तिलाई निर्वाचनको तयारीमा जुट्नसमेत आह्वान गरे। उनले भने, ‘अहिले हाम्रो पाँचदलीय गठबन्धन छ। आगामी निर्वाचनसम्म पनि गठबन्धन कायम रहन्छ।’
नेता नेपालले आफ्नो पार्टीले तत्काल कुनै पनि पार्टीसंग एकीकरण नगर्ने बताए। पत्रकारको जिज्ञासामा अध्यक्ष नेपालले अर्ली इलेक्सनबारे कुनै छलफल पनि नभएको र हुने सम्भावना पनि नरहेको बताए। ‘अहिले निर्वाचन आयोगले रिक्त रहेका संघ र प्रदेशको निर्वाचनका लागि मिति ताकेको हो’, उनले भने, ‘अर्ली निर्वाचन हुन सक्दैन।’
उनले अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सुदूर पश्चिममा बढी क्षति भएकाले पीडितका समस्या सम्बोधन गर्न राज्यले तत्काल कदम चाल्नुपर्ने बताए।