माधव नेपाललाई दिल्लीले पत्याएन - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

माधव नेपाललाई दिल्लीले पत्याएन



काठमाडौं : नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा कुराकानी गर्न विशेष दूतका रूपमा भारत जाने तयारी गरिरहेका बेला भारतले भने नपत्याएको बुझिएको छ ।

प्रधानमन्त्री केपी ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने गृहकार्य गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय उपलब्ध गराउँदा उनलाई समस्या भएको छ ।

नेकपा सचिवालय बैठकमा बुधबार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल भारत जाने भनिएको विषयमा पनि चर्चा भएको थियो । तर, परराष्ट्रमन्त्रालयले गरेको समन्यवमा भारतले रेस्पोन्स नै नगरेको स्रोतले बताएको छ ।

बुधबारको बैठकमा नेता नेपालले भने, ‘प्रधानमन्त्री ओलीले १५-२० दिनअगाडि मलाई सरकारको प्रतिनिधिका रूपमा दिल्ली जानुहोस्, मोदीजीसँग कुरा गरेर आउनुहोस् भन्नुभएको थियो। मैले हुन्छ भनें। परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेकै छ। मैले पनि भारतीय राजदूतसँग छलफल गरें। उताबाट कुनै जानकारी नआएकाले टुंगो लागेको छैन’।

अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको सचिवालय बैठकमा दिल्ली जानका लागि अहिलेसम्म भएका तयारीका विषयमा संक्षिप्त कुराकानी समेत भएको बताइएको छ।

भारत सरकारले गत कात्तिक १६ मा कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूभाग समेटेर राजनीतिक नक्सा जारी गरेपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ।

प्रधानमन्त्री ओलीले कात्तिक २३ मा डाकेको सर्वपक्षीय बैठकले भारतीय राजनीतिक नक्सा मान्य नहुने निष्कर्ष निकालेको थियो। बैठकले लिम्पियाधुराबाट बग्ने नदी नेपाल-भारत सीमा क्षेत्र भएको भन्दै राष्ट्रिय सहमति कायम गरेको थियो।

सरकारले गत मंसिर ५ मा परराष्ट्र मन्त्रालयमार्फत ‘कूटनीतिक नोट’ पठाएर भारतीय कदमविरुद्ध विरोध जनाएको थियो।

त्यसपछि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग औपचारिक संवादका लागि पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता विदेश विभाग प्रमुख माधव नेपाललाई विशेष दूतका रूपमा दिल्ली पठाउने तयारी गरेका थिए।