ओली प्रचण्डलाई माधव नेपालको अर्को काउन्टर - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

ओली प्रचण्डलाई माधव नेपालको अर्को काउन्टर



आफूले उठाएका एजेण्डाप्रति प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसरी अघि बढ्छन्, नेकपाका असन्तुष्ट नेता माधव नेपालले ओलीले चाल्ने कदम अनुसार आफ्नो योजना बनाउने भएका छन्।

बुधबार (१० असोज) संसदमा नै सरकारको चर्को आलोचना गरेका नेपालले शुक्रबार (१२ असोज) मा पार्टी सञ्चालनको विषयमा असन्तुष्टि जनाउन स्थायी कमिटीका सदस्यहरुलाई निम्तो दिएर चियापान कार्यक्रम आयोजना गरेका थिए ।

‘अध्यक्ष ओलीका आगामी कदम कस्ता हुन्छन्, हामी त्यसको प्रतीक्षामा छौँ’ नेकपा स्थायी समिति सदस्य घनश्याम भूषालले भने ‘पार्टीको बैठक बोलाउनु भयो भने बैठकमै आफ्ना कुरा राख्नेछौँ। बैठक नै भएन भने अर्को चियापानका कार्यक्रम गरेर आफ्नो विषयहरु राख्ने योजनामा छौँ।’

यद्यपी, आफूहरु छलफलबाटै अहिलेको समस्या समाधान हुने आशामा रहेको उनले बताए।

नेपालको सो कदमप्रति प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अमेरिकाबाटै जवाफ दिइसकेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालसँग टेलिफोन संवाद गरेर नेपाललाई थुम्थुम्याउने प्रयास गरेका छन्। प्रचण्डले नेपालसँगको फोन सम्बादमा पार्टीका सबै पक्ष मिलेर जानुपर्ने बताएका थिए।

एक चिनिया विश्व विद्यालयबाट ‘मानार्थ प्राध्यापक’ को उपाधि ग्रहण गर्न नेता नेपाल आइतबार साँझ चीनतर्फ लागेका छन्। चीनतर्फ लागेका नेपाल र प्रधानमन्त्री ओली दुबैजना बुधबार स्वदेश फर्कने कार्यक्रम छ।

एकताले पूर्ण आकार ग्रहण गरिनसकेको नेकपाको राजनीति कतातिर जान्छ, ओली–नेपालको स्वदेश आगमनपछि थाहा हुनेछ।

पत्नी सीता दाहालको ‘फलोअप’ उपचारका लागि सिंगापुर गएका अर्का अध्यक्ष प्रचण्ड भने सोमबार (१५ असोज) राति नेपाल फर्किने कार्यक्रम छ। तर, ओली–प्रचण्ड नफर्कुन्जेल उनले गर्न सक्ने केही छैन।

नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाका भनाईमापनि ओली, प्रचण्ड र नेपाल स्वदेश फर्केपछि नेकपाको आन्तरिक राजनीति कसरी अघि बढ्छ, त्यो थाहा हुने बताए।

‘पक्कै पनि विषयको गाम्भीर्यतालाई सबैले बुझेका छन् नेतात्रय स्वदेश फर्केपछि अहिले देखिएका समस्यामा छलफल हुने नै छ’ खतिवडाले भने, ‘त्यसपछि कुनै न कुनै समाधान निस्केला।’

सहमति विपरित आफू विदेश भ्रमणमा रहेका बेला ५ असोजको केन्द्रीय सचिवालय बैठकबाट प्रदेश कमिटीको नेतृत्व कमिटीको नेतृत्व तोकिएको विषयप्रति नेपाल असन्तुष्ट छन्।