पुरानै अडानमा माधव नेपाल: सुमारसँग भने- ‘संशोधन नभए एमसीसी पास हुँदैन’
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पुरानो अडानमा कायम रहेका छन् । उनले एमसीसीका विवादास्पद बुँदा संशोधन नभएसम्म एमसीसी अनुमोदन नहुने बताएका छन् ।
एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग डेढ घण्टा छलफल गर्दै उनले संशोधन बिना एमसीसी अघि बढ्न नसक्ने अडान प्रस्तुत गरेका हुन् । ‘एमसीसीबारे राजनीतिक दलहरूको फरक मत छ, सहमति जुटिसकेको छैन । हामी एमसीसीको विपक्षमा छैनौँ । केही बुँदा संशोधन भए अनुमोदन गर्न सकिन्छ,’ छलफलमा अध्यक्ष नेपालको भनाई उद्दृत गर्दै स्रोतले बताएको छ ।
भेटमा उपाध्यक्ष सुमारले हस्ताक्षर भइसकेकाले सम्झौता संशोधनको विषयमा नसोचेको भन्दै यथाशीघ्र राष्ट्रिय सहमतिसहित एमसीसी पारितको पक्षमा आफूहरु रहेको बताइन् ।
‘हामीले एमसीसीबारे जवाफ दिइसक्यौं, आवश्यक परे अझै प्रष्ट पार्न तयार छौं । तर, तत्काल संशोधनको विषयमा भने सोचेका छैनौँ । हाम्रो चाहना सर्वपक्षीय सहमतिसहित एमसीसी पारित हो,’ उनको भनाई छ ।
उपाध्यक्ष सुमारले एमसीसी पारित गर्नका लागि दबाब दिने पक्षमा आफूहरू नरहेको समेत बताएकी छन् ।
नेपालसँगको छलफलपछि सुमार नेतृत्वको टोली मेरियट होटलमा पुगेको छ । अमेरिकी प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री शेरबरहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछ ।