माधव नेपालले भने: सरकारको यस्तै चाला हो भने हाम्रो साथ रहन्न ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

माधव नेपालले भने: सरकारको यस्तै चाला हो भने हाम्रो साथ रहन्न !



काठमाडौं : नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पार्टी नेतृत्वको इतिहासकै बलियो सरकारविरुद्ध जताततै असन्तुष्टि, आक्रोश र खिसिटियुरी भइरहेको भन्दै तिब्र आलोचना गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेता नेपालले मन्त्रीहरूका कार्यशैली, सरकारका विवादास्पद निर्णय र नियुक्तिका सम्बन्धमा पनि असन्तुष्टि जनाए।

‘छलफल गर्ने र अरूका कुरा सुन्ने बानी बसाल्नुपर्‍यो’, प्रतिपक्षी शैलीमा सरकारविरुद्ध आक्रोश पोख्दै नेता नेपालले भने, ‘जता गयो सरकारविरुद्ध असन्तुष्टि छ, आक्रोश बढेको छ। खिसिटियुरी छ। यो स्थितिले त सरकारलाई पोल्नुपर्ने हो नि।’

सरकारले जनताका आवाजको उपेक्षा गरेकोमा असन्तुष्टि जनाउँदै नेता नेपालले भने, ‘यो सरकार अगाडी बढोस् हाम्रो समर्थन रहन्छ, तर नराम्रो गरे हाम्रो साथ रहँदैन।’ जनताका अपेक्षा र गुनासालाई ‘रियाक्ट’ गर्ने नभइ ‘रियलाइजेशन’ गर्नुपर्ने नेता नेपालले बताए। भ्रष्टाचारीलाई सजाय गर्ने भन्दा सरकारले नै पुरस्कृत गरिरहेको भन्दै नेता नेपालले असन्तुष्टि जनाए।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही नभएकोदेखि भौगोलिक अखण्डतामाथि प्रश्न उठाउनेलाई कारबाही नगरेको भन्दै नेपालले गृहमन्त्री रामबहादुर थापाप्रति असन्तुष्टि जनाए। ‘मैले एउटा भिडियो हेरे, खुलेआम भौगोलिक अखण्डतामाथि चुनौती दिने काम भइरहेको छ’, नेता नेपालले भने, ‘गृहमन्त्री कहाँ हुनुहुन्छ ?       गृह प्रशासनलाई थाहा छ कि छैन ? ’

राष्ट्रद्रोहीलाई छुट दिने काम सरकारले गरेको भन्दै असन्तुष्टि पोखे। ‘राष्ट्रद्रोहीलाई त्यत्तिकै छुट दिन्छन्, कडाइ गर्दैनन्’, नेपालले आक्रोश पोखे, ‘जसको मनमा नेपाली भावना छैन, त्यसले नेपाली भन्नुको अर्थ छैन।’

पप्पु कन्स्ट्रक्शनलाई कालोसूचीमा राख्नुको सट्टा राम्रा राम्रा ठेक्का दिइएको, विदास्पद छविका दिगम्बर झालाई टेलिकम अध्यक्ष बनाएको भन्दै नेपालले आक्रोश पोखे। ‘कालोसूचीमा परेका र समाजले प्रश्न उठाएका ब्यक्तिलाई दण्ड गर्नुपर्‍यो’, पार्टीमा छलफल नगरी प्रधानमन्त्री र मन्त्रीहरूले एकतर्फी निर्णय गरिरहेकोतर्फ संकेत गर्दै नेता नेपालले भने, ‘उपयुक्त कुरा सुन्नुहोस्। दुई तिहाइको सरकारसँग अब कुनै पनि बहाना छैन।’

आफ्नो निर्वाचन क्षेत्रअन्र्तगत चावहिल–साँखु सडकको दुर्दशाको उदाहरण दिँदै नेता नेपालले चर्को असन्तुष्टि जनाए। ‘साँखु–चावहिल सडकको जुन दिन अनुगमन गर्‍यो, त्यो दिन ठेकेदारले चार ट्रक गिट्टी सडकमा झार्छ’, नेपालले भने, ‘भोलिदेखि ठेकेदार बेपत्ता, उही दुर्दशा।’

काम नगर्नेलाई सरकारले कारवाही नगरेको भन्दै नेपालले आक्रोश पोखे। ‘मन्त्री, सचिवहरू कता बेपत्ता हो ? ’, नेपालले भने, ‘जति कालोसूचीमा पर्‍यो, त्यत्ति नै पुरस्कृत हुने स्थिति देख्दा दिक्क लाग्छ।’

बाराको निजगढमा चाहिने जति मात्र रुख काटेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ढिलाइ गर्न नहुने नेपालले बताए। ‘फास्ट ट्रयाक र निजगढमा विमानस्थल बनाउने काममा कुनै ढिला नहोस’, उनले भने, ‘कुनै पनि उद्योग खुल्न नदिने, विमानस्थल बन्न नदिने, हाईड्रोपावर बन्न नदिनेको षडयन्त्रमा सरकार फस्नुहुन्न।’

कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारकै पालामा निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढेकाले कांग्रेसले विमानस्थल निर्माणमा सहयोग गर्नुपर्ने उनको तर्क थियो।

वर्तमान सरकारप्रति नै जनताको अपेक्षा रहेको उल्लेख गर्दै नेपालले भने, ‘ श्रीमति, छोराछोरी, पिएलाई विदेश घुमाएर मात्र विकास हुँदैन।’ बेलायती सेनामा नेपाली महिला भर्ना रोक्न उनले सरकारसँग माग गरे। ‘आज बेलायत, भोलि खाडी, पर्सि भारतले हाम्रा महिलालाई सेनामा भर्ना गर्ला’, उनले भने, ‘यस्तो भयो भने हामी सबैको शिर निहुरिन्छ।’ व्यापक छलफल र परामर्श गरेर राजदूत र संवैधानिक अंगका पदाधिकारी नियुक्त गर्न नेता नेपालले सरकारको ध्यानाकर्षण गराए।

कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाए। सत्तासीन नेकपा वरिष्ठ नेता नेपालले नै आलोचना गर्नुले सरकारको असली रुप स्पष्ट भएको गच्छदारको तर्क थियो। ‘सत्तापक्षबाटै सरकारको निरिहता र क्रियाकलापप्रति लज्जाबोध हुने अभिव्यक्ति २६÷२७ वर्षको संसदीय अभ्यासमा पहिलोपटक सुने’, गच्छदारले भने। पूर्वपश्चिम रेलमार्ग र ५ हजार मेगावट विद्युत् उत्पादन गर्ने महत्वकांक्षी सपना नदेख्न गच्छदारले सरकारको ध्यानाकर्षण गराए।

राजपाका नेता राजेन्द्र महतोले संशोधन नभए संविधानकै दुर्गति हुने चेतावनी दिए। कैलाली १ बाट निर्वाचित राजपा सांसद रेशम चौधरीलाई सपथ नखुवाएको भन्दै महतोले असन्तुष्टि जनाए।

संघीय समाजवादी फोरमका रामसहाय यादवले भौगोलिक अखण्डतामा आँच पुर्‍याउनेलाई आफ्नो दलको साथ र समर्थन नहुने स्पष्ट गरे।