चुनावमा नेकपा (एस)ले ठुलो सफलता पाउनेछ: माधव नेपाल - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

चुनावमा नेकपा (एस)ले ठुलो सफलता पाउनेछ: माधव नेपाल



सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गरेका छन्।

सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरूसँग तालमेल गर्ने बताए।

पार्टीले आगामी चुनावमा केन्द्रीत भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा लागेको पनि उनले बताए। “हामी आगामी चुनावको तयारीलाई फोकस गरेर, केन्द्रबिन्दूमा राखेर त्यसको निम्ति प्रत्येक पालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरूको बिस्तार गर्दै चुनावसम्बन्धी परिचालन कमिटी पनि हामी बनाउँदै जानेछौँ। र जो जोसँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौँ।”

यसैबीच, नेकपा (एकीकृत समाजवादी) को सोमबार पोलिटब्युरोको प्रथम बैठक काठमाडौंस्थित एक ब्याङ्क्वेटमा शुरु भएको छ। पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले २५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने उनले बताए। भने, “२५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ। नीति तय गर्नेछ। पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। राजनीतिक प्रतिवेदन र आगामी कार्ययोजना सहितको प्रतिवेदनमा समावेश गरिएको छ। तिनै विषयमा छलफल हुनेछ। सामान्यतया राय, सल्लाह, सुझाव लिइनेछ। नीतिगत मार्गदर्शन प्राप्त गरिनेछ। त्यसैलाई परिमार्जन गरेर पार्टीको केन्द्रीय कमिटी बैठकमा यसलाई लगिनेछ। अब हामी मुलरुपमा आगामी आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई केन्द्रीकृत गर्नेगरी लाग्नेछौँ,” खतिवडाले भने।

प्रवक्ता खतिवडाले कार्यकर्ताहरूलाई एकतावद्ध बनाएर आसन्न स्थानीय तहको निर्वाचनमा परिचालन गर्नु नै पार्टीको अहिलेको मुख्य काम भएको बताए।