माधव नेपालले भने: आँखा चिम्लेर एमसीसीको समर्थन गर्न सकिँदैन - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

माधव नेपालले भने: आँखा चिम्लेर एमसीसीको समर्थन गर्न सकिँदैन



वीरगन्ज- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने बताएका छन् । शुक्रबार बिहान वीरगन्जमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमसीसीका केही बुँदामा प्रष्टिकरण आवश्यक रहेको खुलाए ।

‘एमसीसीमा कतिपय कुराहरु मिलाउनु पर्ने छ,’ अध्यक्ष नेपालले भने, ‘जनमत एमसीसीको विपक्षमा छ । जनमतलाई पनि हामीले कसरी आश्वस्त बनाउने, यो एउटा ठूलो चुनौती छ । अझ यसलाई सार्न पाए राम्रो । छलफल गर्न समय पनि पाइन्छ । गहिरो गरी अध्ययन गर्न समय पाइन्छ ।’ यसको बारेमा कतिपय भए/नभएको जुन प्रचार भइरहेको छ । त्यसमा प्रस्ट पार्न आवश्यक रहेको उनले बताए ।

‘हामी यसको अझै अध्ययन गरिरहेका छौँ । अध्ययन गरी के अडान लिने भन्ने बारेमा टुंगो लगाउँछौँ,’ अध्यक्ष नेपालले भने, ‘अहिले यति मात्र भन्न सकिन्छ, जस्तो छ, यथास्थितिमा आँखा चिम्लेर समर्थन गर्न सकिँदैन ।’ आफूहरु कुनै सैन्य गठबन्धनमा सामेल नहुने, सुरक्षा रणनीतिको अंग नबन्ने र नेपालको भूमिमा कसैको स्वामित्व र सार्वभौम अधिकार नसुम्पिने मान्यताका साथ अगाडि बढ्ने चाहिरहेको अध्यक्ष नेपालले बताए ।

‘एमसीसी इन्डो प्यासेफिकको अंग हो कि हैन ?, यो अमेरिकाको सुरक्षा रणनीति अन्तर्गत पर्छ कि पर्दैन् ?, योजना निर्माणको क्रममा लाग्ने श्रमशक्ति नेपालीले हक रुपमा प्रयोग गर्न पाइन्छ कि पाइँदैन ?, त्यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन् ?, त्यसको लेखा परीक्षणको हक नेपालले प्राप्त गर्छ कि गर्दैन ? लगायतका प्रश्नहरुको हामीले समुचित जवाफ खोजिरहेका छौँ,’ पूर्वप्रधानन्त्री समेत रहेका नेपालले भने, ‘एमसीसीमा जनमत विभाजित छ । पार्टीहरु पनि विभाजित छन् ।’

चुनावी प्रसंगमा अध्यक्ष नेपालले ५ दलको सत्तारुढ गठबन्धन अगामी चुनावमा एकताबद्ध भएर जानु पर्छ भन्ने मान्यतामा रहेको खुलाए । ‘कसैले भोलि मत फेर्‍यो भने त्यो पार्टीको मत फेरिएला,’ अध्यक्ष नेपालले भने, ‘तर, अहिलेसम्मको सहमति के हो भने गठबन्धनका पार्टीहरु मिलेर चुनावमा जाने ।’