ओलीले हार स्वीकारेपछि माधव नेपाल खुसी - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

ओलीले हार स्वीकारेपछि माधव नेपाल खुसी



काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन्।

पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन्।

एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरुको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए।

सोही भनाइलाई उधृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरीत राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्वीकार गरेको टिप्पणी गरे।

“आज तपाईहरुले सुन्नु भएको होला–केपी ओलीको एउटा भाषण। त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ। सुन्नु भयो, हैन ? हार स्वीकार गरेका छन्। पराजय स्वीकार गरेका छन्,” नेपालले भने, “तर कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन।”

नेपालले ओलीले देशभर एकसाथ जिल्लाहरुको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाए। जिल्लाजिल्लामा गरेको भए नेताहरु जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने उनको भनाइ थियो।

तर त्यो पद्धति ओली समूहमा नरहेको अध्यक्ष नेपालले बताए। उनले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ताहरु नभएको दाबी पनि गरे।

“…स्वभाव कस्तो छ भन्दाखेरी नयाँ नेतृत्व विकास गर्नै नदिने। ७७ जिल्लामा एकैचोटी जिल्ला अधिवेशन उद्घाटन गर्ने। देशैभरी एकैचोटी,” नेपालले भने, “यसले के हुन्छ, थाहा छ ? नयाँ नेतृत्व स्थापित हुँदैन।”

अध्यक्ष नेपालले उनीसँग देवत्वकरण गर्ने मानिसहरु मात्रै रहेको र अन्य मानिसहरु विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको दोहोर्‍याए।

“एकल नेतृत्व। नेताको देवत्वकरण। देवत्वकरण, उनीलाई देउताजस्तो मान्ने। नेतालाई देउता बनाउनेलाई देवत्वकरण भनिन्छ,” नेपालले अहिलेको एमालेलाई चित्रण गर्दै भने, “देवत्वकरण भइसकेपछि त्यो देउताको वरिपरि पूजकहरुमात्रै बस्ने। भजनभण्डली। देउताको त भजन गर्नु प¥यो नि। भजनमण्डली।”

“त्यहाँ सिद्धान्तनिष्ट कार्यकर्ताहरु छैनन्। आलोचनात्मक चेत भएका मानिसहरु छैनन्। ठीक र बेठीक। सही र गलत छुट्टयाउने सक्ने क्षमता भएका मानिसहरु होइनन्,” नेपालले थपे, “बौद्धिकताको विकास गर्ने, आधुनिक ज्ञान र चेतना हासिल गर्ने त्यस्ता व्यक्तिहरु होइनन्। त्यहाँ पूजक प्रवृत्ति बोकेकाहरु, हनुमान प्रवृत्ति भएकाहरु, अझै भनौं गणेश प्रवृत्ति भएकाहरुलाई मात्रै त्यहाँ ठाउँ छ। त्यसो हुनाले त्यो समूहभित्र विद्रोह भइरहेको छ।”

अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताए। उनले जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।