माधव नेपालले भने: स्थानीय तहको निर्वाचन बैशाखमै हुन्छ - Himal Post Himal Post
  • २३ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 8 2024
Logo

माधव नेपालले भने: स्थानीय तहको निर्वाचन बैशाखमै हुन्छ



काठमाडौँ- सत्तारूढ गठबन्धन वैशाखमै निर्वाचनमा जान तयार भएको छ । सत्ता गठबन्धनमा रहेको एक दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले वैशाखमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

शनिवार नेकपा (एस) निकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले आफूहरू चुनावबाट भाग्न नखोजेको प्रस्टीकरण दिएका छन् ।

आगामी निर्वाचनमा पनि गठबन्धन गरेर जान प्रधानमन्त्री शेरबहादुर देउवा तयार रहेको र निर्वाचनबाट नेकपा एमालेको सूर्य चिन्हमा ग्रहण लाग्ने दाबी गरे । राष्ट्रिय सभा निर्वाचनमा जित हासिल गरेर नेकपा (एस)को चुनाव चिन्ह कलम चम्किइसकेको उनले बताएका छन् ।

‘अहिले हाम्रो मुख्य चुनौती नेकपा एमाले भनिएको केपीको गुट र त्यसमा जोडिएका मान्छेहरूले सिर्जना गर्ने भ्रमहरू छन्,’ नेपालले भने ।

नेपालले त्यसविरुद्ध सशक्त उत्रन कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

सम्बोधनका क्रममा उनले भने, ‘हामी चुनावबाट डराएका छैनौं, तर गठबन्धन तोड्न खोज्नेहरूले अनेक भ्रम छरिरहेका छन् । प्रधानमन्त्री गठबन्धन कायम गरेरै चुनावमा जान तयार हुनुहुन्छ । वैशाखमै चुनाव भए पनि केपी ओली गुट विरुद्ध भिड्न तयार छौं ।’

राष्ट्रिय सभा निर्वाचनमा एमालेले अकुत सम्पतिको दुरूपयोगसमेत गरेको उनले आरोप लगाएका छन् । ‘पैसाको पूरै खोलो बगाएको भएता पनि सोचेजस्तो, चाहेजस्तो सफलता हासिल गर्न सकेन । त्यसकारण, पैसाको जित हुन्छ भन्ने कुरा पूर्णरूपमा सत्य होइन,’ नेपालले भने ।