माधव पक्षले डाक्यो स्थायी कमिटी बैठक: के छन् एजेण्डा - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

माधव पक्षले डाक्यो स्थायी कमिटी बैठक: के छन् एजेण्डा



काठमाडौं – नेकपा एमाले माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक आज डाकेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको र नेताहरूलाई अनावस्यक कारबाही गरेको भन्दै नेपाल समुहले देशव्यापी एमालेभित्र समानान्तर गतिबिधि गरिरहेको छ ।

शुक्रबार बिहान ११ बजे कलंकीस्थित मेगा बैंक्वेटमा स्थायी कमिटी बैठक बोलाइएको हो । ओलीले फागुन २८ गते एकलौटी रूपमा विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि नेपाल-खनाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा जुटेको छ।

बिहिबार मात्र कास्किमा समानान्तर जिल्ला कमिटी गठन गरिएको छ। नेता माधवकुमार नेपालसहित गएर त्यहाँ समानान्तर कमिटी गठन गरिएको हो। यो समूहले केन्द्रदेखि गाउँ तहसम्म कमिटी विस्तार गरेर अगाडि बढ्ने रणनीति बनाएको छ।

हालसम्म अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइसकेका छन्। आजको स्थायी कमिटी बैठकले थप रणनीति तय गर्ने बताइएको छ।

ओलीले यो समूहका नेता माधवकुमार नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए। चित्त बुझ्दो जवाफ नआएको र गुटबन्दी गरेको तथा पार्टी हित विपरीत काम गरेको भन्दै ६ महीनाका लागि चारै जनालाई निलम्बन गरिसकेका छन्।