‘मदन पुरस्कार-२०७३’ का लागि नौ पुस्तक मनोनयनमा
हिमाल पोस्ट /काठमाडौँ ,असार २५
मदन पुरस्कार गुठीले ०७३ सालमा बजारमा आएका कृतिहरू मध्येबाट ९ वटा कृतिलाई पुरस्कारको मनोनयन सूचीमा राखेको छ । मनोनयनमा परेका ९ पुस्तकहरुमा पुरूषोत्तमलोचन श्रेष्ठको गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, राज सरगमको छाउघर, शरद पौडेलको तपन, जय छाङ्छाको दोहाको सिधा उडान, घनश्याम कँडेलको धृतराष्ट्र, हरि अधिकारीको प्रतिनायक, सीमा आभासको म स्त्री अर्थात् आइमाई, राजेन्द्र पराजुलीको शुक्रराज शास्त्रीको चस्मा र नवराज पराजुलीको सगरमाथाको गहिराइ रहेका छन् ।
मनोनयनमा परेका यिनै मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई ०७३ सालको मदन पुरस्कार दिइनेछ ।
मदन पुरस्कार गुठीका अनुसार पुरस्कारका निम्ति प्राप्त भएका १ सय ९५ पुस्तकमध्येबाट ‘श्रेष्ठ सूची’ छनोट गरिएको हो । गत वर्ष ७ पुस्तकको ‘श्रेष्ठ सूची’ निकालेको गुठीले यसपालि ९ पुस्तकको नाम छनोट गरेको छ । विगतका वर्षहरूमा एकैचोटि विजेताको नाम सार्वजनिक गर्ने गरेको गुठीले ०७२ सालबाट श्रेष्ठ सूची सार्वजनिक गर्ने चलन सुरु गरेको हो ।