यो सरकार मदनभण्डारीको हत्यारा पत्ता लगाउन किन सक्दैन ? - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

यो सरकार मदनभण्डारीको हत्यारा पत्ता लगाउन किन सक्दैन ?



काठमाडौँ – प्रतिनिधि सभामा मदनभण्डारीका हत्यारा पत्ता नलगाएको विषय उठान भएको छ । मङ्गलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा नेपाली काङ्ग्रेसका नेता देवेन्द्रराज कँडेलले “दुईतिहाईको सरकारले किन मदनभण्डारीको हत्यारा पत्ता लगाउन सक्दैन ?” भन्दै प्रश्न गरेका छन् ।

उनले मदन भण्डारीको नाममा विश्वविद्यालय खोल्ने सरकारको परिकल्पना राम्रो भएको भन्दै उनको हत्याराको बारेमा सरकारले वास्तै नगर्नुको कारण के हो भन्ने प्रश्न पनि गरेका छन् । दुईतिहाईको सरकार, भण्डारीका मित्र प्रधानमन्त्री र धर्मपत्नी राष्ट्रपति भएको बेलामा समेत सरकारले मदन भण्डारीको हत्याराको खोजी समेत नगरेको भन्दै जनस्तरमा समेत बेला बेलामा यसबारे चर्चा चल्ने गर्दछ । यही बेलामा कँडेलले भने संसद्‌मा नै यसबारे कुरा उठाएका हुन् ।

नेता कँडेलले फरक प्रसङ्गमा बालुवाटारको ललिता निवास प्रकरणमा प्रमुख आरोपी मानिएका नवलपरासीका शोभाकान्त ढकाल तत्कालीन एमालेको नेता भएकोले पनि उनलाई उन्मुक्ति दिइएको त होइन भन्ने चासो राखेका छन् । २०७० सालको चुनाव र पछिल्लो आम चुनावमा समेत उनको नाम समानुपातिक सूचीमा राखिएको भन्दै पार्टीको नेता भएकै कारणले त उनीमाथि कारबाही नभएको त होइन भन्ने प्रश्न समेत उनले
गरे ।