लुम्बिनीमा नयाँ सहमति: माओवादी र कांग्रेसले आलोपालो गर्ने - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

लुम्बिनीमा नयाँ सहमति: माओवादी र कांग्रेसले आलोपालो गर्ने



रूपन्देही- लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ सहमति गरेका छन् । कांग्रेस र माओवादीले सरकारको नेतृत्वका लागि आधा-आधा समय नेतृत्व गर्ने सहमति गरेका छन् ।

माओवादी केन्द्र र नेपाली कांग्रेसले बाँकी रहेको १६ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् । अब १६ महिना कार्यकालमा उनीहरूले ८/८ महिना नेतृत्व गर्ने सहमति गरेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि बहुमतमा रहेका गठबन्धनको सरकार बन्ने पक्का भएको छ । सहमति अनुसार शुरूको ८ महिना माओवादी केन्द्रले नेतृत्व गर्नेछन भने त्यसपछिको ८ महिना नेपाली कांग्रेसले नेतृत्व गर्नेछ ।

माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी पहिले र बाँकी समय कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्नेछन । मंगलबार बसेको गठबन्धनको बैठकले यस्तो आन्तरिक सहमति गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए ।

माओवादी र कांग्रेसले गण्डकी र लुम्बिनीको मुख्यमन्त्री बाँडे पनि लुम्बिनीमा शक्ति सन्तुलन मिलाउन यस्तो गरिएको कांग्रेस नेताहरूले बताएका छन् ।