लुम्बिनीमा नयाँ मुख्यमन्त्री बनाउन गठबन्धनले बुझायो ४२ जनाको हस्ताक्षर - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

लुम्बिनीमा नयाँ मुख्यमन्त्री बनाउन गठबन्धनले बुझायो ४२ जनाको हस्ताक्षर



बुटवल- लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुखसामु मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । गठबन्धनका ४१ र एक सुर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद अजय शाहीको गरि ४२ सांसदको हस्ताक्षर बुझाएको छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर आह्वान गरेका थिए । प्रदेश प्रमुखले दिएको समयभित्रै गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए । मुख्यमन्त्रीमा प्रस्तावित केसी रोल्पा १ (क)बाट निर्वाचित हुन् । सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ । एमाले सांसद तथा पूर्वमन्त्री बैजनाथ चौधरीले आफूहरु प्रतिपक्षमा रहने जनाए ।

प्रदेश प्रमुखले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथसमेत गराउने तयारी छ । गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ । गठबन्धनबीच मुख्यमन्त्रीमा आठ-आठ महिना आलोपालो गर्ने सहमति भए पनि अन्य मन्त्रालय बाँडफाँडको काम बाँकी नै छ । पहिलो ८ महिना केसी र २०७८ फागुन २ गतेपछि नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कानोडिया मुख्यमन्त्री बन्ने सहमति छ ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र कायम छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । अल्पमतमा परेको एमालेमा ३७ जना छन् ।

नवलपरासी पश्चिमबाट सूर्य चिन्ह लिएर स्वतन्त्रबाट निर्वाचित सांसद अजय शाही बुधबारदेखि ४ दलको गठबन्धनमा खुलेपछि गठबन्धनमा सांसद संख्या ४३ पुगेको छ ।