१०६ वर्ष पुरानो अस्पतालमा छैनन् डाक्टर, बिरामी महंगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

१०६ वर्ष पुरानो अस्पतालमा छैनन् डाक्टर, बिरामी महंगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य



प्रकाश आचार्य

बुटवल यस क्षेत्रकै पुरानो लुम्बिनी अञ्चल अस्पताल बुटवलमा दरबन्दी अनुसारका चिकित्सकहरू नहुँदा बिरामी मर्कामा परेका छन् । १०६ वर्ष पुरानो अञ्चल अस्पतालमा ९७ जना विशेषज्ञ चिकित्सको दरबन्दी भएपनि अहिले ३७ जना मात्र सरकारी दरबन्दीका चिकित्सक कार्यरत छन् ।

आवश्यकता अनुसारका विशेषज्ञ डाक्टर नहुँदा प्रदेश नम्बर ५ सहित अन्य जिल्लाका बिरामी उपचारका लागि महंगो शुल्क तिरेर निजी अस्पतामा जानुपर्ने अवस्था सिर्जना भएको छ ।

दरबन्दी अनुसारको डाक्टरका लागि पटक–पटक आग्रह गरेपनि सम्बन्धित निकायले चासो नदिएको अस्पतालका मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिए ।

‘अस्पतालमा ५० जना विशेषज्ञ र ४७ जना मेडिकल अधिकृतको सरकारी दरबन्दी छ’ रेग्मीले भने, ‘स्वास्थ्य मन्त्रालयले दरबन्दी अनुसारको चिकित्सक पठाइदिएन । हामीले करारको सहायता ७५ जना डाक्टर र ४२ जना मेडिकल अधिकृत राखेर उपचार सेवा दिइरहेका छौँ ।’

प्रदेशकै ठूलो अस्पतालमा साविक लुम्बिनी, राप्ती र गण्डकी अञ्चलका साथै भारतको महाराजगञ्ज जिल्लाका बिरामीसमेत उपचारमा आउने गर्छन् ।

डेन्टल सर्जन २, प्याथोलोजिष्ट १, डर्माटोलोजिष्ट (छाला रोग विशेषज्ञ) १, नाक, कान घाँटी १, स्त्री तथा प्रसूति ३ जना (काज), वरिष्ठ मेडिकल अधिकृत १, रेडियोलोजिष्ट १, न्यूरोलोजिष्ट १, यूरो सर्जन १, न्यूरो सर्जन १, नेप्रोलोजिष्ट १ गरी १६ विशेषज्ञ र ४५ जना मेडिकल अफिसरको अस्पतालमा दरबन्दी रिक्त छ । २५० शैयाको अत्पताललाई ३ सय शैया पु¥याउने तयारी छ । तर,दरबन्दी अनुसारका चिकित्सकहरू नआउँदा कठिनाई हुने देखिएको छ ।

अस्पतालमा दैनिक १ हजार बिरामीको उपचार हुने गरेपनि पर्याप्त चिकित्सक नहुँदा बिरामीहरू महंगो शूल्क तिरेर निजी अस्पताल तथा क्लिनिकमा जान बाध्य छन् । अस्पतलमा अस्पताल विकास समिति र सरकारी गरेर ५०४ जना कर्मचारीहरु भए पनि अहिले ४८० जना कार्यरत छन् । अस्पताल लागि स्वास्थ्य मन्त्रालयले यस वर्ष पाँच करोड १८ लाख रकम विनियोजन भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनालले सय वर्ष अगाडिको संरचनामा काम गर्दा बिरामीलाई सेवा प्रवाह गर्न केही कठिनाई भएको बताउँछन् । उनले भने, ‘सरकारले सय वर्ष अगाडि ५० शैया सञ्चालन गर्दा पनि अहिलेको क्षेत्रफल थियो । अहिले ४ सयको अनुमति छ । क्षेत्रफल उही छ । बिरामी बढेका छन् । डाक्टर पनि आवश्यकत अनुसारका छैनन् । जसले गर्दा व्यवस्थापनमा चौतर्फी समस्या छ ।’

अस्पतालमा चार सय शैयाको अनुमति भए पनि अहिले २१० शैया मात्र सञ्चालनमा छन् । अस्पतालको व्यवसायिक सटरबाट वार्षिक ३ करोड भन्दा बढी आम्दानी हुन्छ ।

स्पतालका ७३ वटा व्यवसायिक सटरहरू छन् । अस्पतालको औषधि बिक्री कक्ष (फार्मेसी) सञ्चालनमा आए पनि प्रर्याप्त औषधि नहुँदा बिरामीहरू अन्य निजी फार्मेसीमा जानुपर्ने बाध्यता छ ।

सेक्टर वन कार्यालय रहेको जग्गालाई पनि अस्पताल मातहत ल्याउने स्वास्थ्यमन्त्री दीपक बोहोराले पहल गर्ने आवश्वाशन दिएका छन् । उक्त जग्गा अस्पताल दिएमा पुरानो अस्पतालको भवन हटाएर नयाँ बनाउनेसमेत बताइएको छ ।

समाचार मेचिकाली दैनिकमा प्रकाशित छ ।