लुका मोड्रिचको मूल्य रोनाल्डोको भन्दा साढे सात गुणा बढी - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

लुका मोड्रिचको मूल्य रोनाल्डोको भन्दा साढे सात गुणा बढी



रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्रोएसियाली प्लेमेकर लुका मोड्रिचको मूल्य एक अर्ब अमेरिकी डलर भएको घोषणा गरेका छन् ।

यो मूल्य रोनाल्डोको भन्दा साढे सात गुणा बढी हो । रोनाल्डो ११६ मिलियन अमेरिकी डलरमा इटालियन क्लब युभेन्टसमा आबद्ध भएका थिए । रोनाल्डोको रिक्त स्थान पूर्ति गर्नका लागि रियल मड्रिडलाई यो सिजन केही समस्या पर्न सक्ने अनुमान फुटबल विश्लेषकहरुको छ ।

विश्वकपका सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पाएका मोड्रिचप्रति केही क्लबहरुको आकर्षण रहँदै आएको छ । तर रियलले मोड्रिचमा पहुँचभन्दा माथिको ‘प्राइस ट्याग’ भिडाएको छ । सान्टियागो बर्नाबाउमा मोड्रिचको सम्झौता अझ दुई वर्ष बाँकी छ । मोड्रिच क्रोएसिया टिमका इभान पेरिसिच र मार्सेलो ब्रोजोभिचसँगै इन्टरमिलानमा खेल्न चाहेको भन्ने इटालियन मिडियाले लेखेका थिए ।

यस सन्दर्भमा रियलका अध्यक्ष पेरेजले मोड्रिचको बहिर्गमनको ढोका बन्द गरेका हुन् । मोड्रिचलाई अनुबन्ध गर्न चाहनेले एक अर्ब डलर तिर्नु पर्ने बताएर उनले मोड्रिचलाई क्लबमै राख्न चाहेका हुन् ।