बजेटमा समेटिएका ७ लोकप्रिय कार्यक्रम यस्ता छन् - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बजेटमा समेटिएका ७ लोकप्रिय कार्यक्रम यस्ता छन्



काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गरेको छ । संसद विघटन भैसकेकाले सरकारले यो बजेट अध्यादेशमार्फत ल्याएको हो ।

लोकप्रिय बजेट लत्याएर मतदाता प्रभावित पार्न लागेको भन्दै चर्को आलोचना भैरहँदा सार्वजनिक भएको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले नियन्त्रणमा जोड दिइएको छ । खोप किन्न र अस्पतालको पूर्वाधार बढाउन पर्याप्त रकम विनियोजन गरिएको छ । कर्मचारीको तलब र ज्येष्ठ नागरिकको भत्ता बढाइएको छ । समग्रमा सरकारले वितरणमुखी बजेट बनाएको छ ।

बजेटमा समेटिएका केही लोकप्रिय कार्यक्रम यस्ता छन् :

सरकारी कर्मचारीको तलब बढ्यो

सरकारी कर्मचारीको तलब बढेको छ । सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँका दरले बढाएको हो । यो तलब साउन १ गतेदेखि लागू हुनेछ । महंगीभत्ता यथावत राखिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

वृद्धभत्ता अब मासिक ४ हजार

सरकारले वृद्धभत्ता बढाएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अब वृद्धभत्ता मासिक ४ हजार पुर्याइएको जानकारी दिनुभएको हो । उहाँले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको जानकारी पनि दिनुभयो ।

सरकारी कर्मचारीलाई भत्ता दिएर घुम्न पठाइने

सरकारले आन्तरिक पर्यटन बढाउन सरकारी कर्मचारीलाई घुम्न पठाउने भएको छ । आउँदो बजेटमा सरकारी कर्मचारीलाई घुम्न पठाउन प्याकेज घोषणा भएको छ । सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको घुम्ने रकम दिइने बजेटमा उल्लेख छ । यस्तै विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क छुट दिइएको छ ।

सुरक्षाकर्मीको रासन भत्ता बढ्यो

सरकारले सुरक्षाकर्मीको रासन भत्ता बढाएको छ । देशमा शान्ति, सुरक्षा कायम गर्ने काममा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपीएफका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढाउने बजेटमा उल्लेख छ ।

सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क

सरकारले देशभित्रका सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासङ्घको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार परिचयपत्रका आधारमा सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो ।

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले स्नातक, स्नातकोत्तर वा त्यो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी बढीमा पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जानकारी गराउनुभएको हो ।

खोप लिन बाँकी सबैलाई निःशुल्क

सरकारले कोरोना खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेको छ । यस्तै सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

सरकारले भेन्टिलेटर तथा मेडिकल उपकरणका लागि चार अर्ब छुट्याएको मन्त्री पौडेलले बताउनुभयो । यस्तै सरकारले पालिकाहरुमा पठाउने बजेट रकम बढाएको छ । कोरोनाले ज्यान गुमाएकाका सन्तानलाई छात्रवृत्तिसँगै साना किसानलाई मल र बिउमा अनुदान दिने घोषणा पनि गरेको छ । सरकारले गरिबी निवारण कोष र सांसद विकास कोष खारेजी पनि गरेको छ ।