लोकबहादुरको सनसनीपूर्ण बयान: एउटै चिर्पटले ६ जना सिध्याएँ
संखुवासभा- मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा वंश नै सखाप पर्नेगरी सामूहिक हत्याकाण्ड मच्चाएका लोकबहादुर कार्कीले सनसनीपूर्ण बयान दिएका छन् । हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो हत्या गरेको बताएका छन् ।
आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले हत्या गरेको स्वीकार गरेका हुन् । प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणबहादुर बिसीले कार्कीले योजनाबद्ध नभई आवेगमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।
कार्कीले सुरुमा बडाबा तेजबहादुर कार्कीको हत्या गरेका थिए । तेजबहादुरको हत्या गरेको अरुले देखेपछि उनकी श्रीमती ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीलाई एउटै चिर्पटले हानेर हत्या गरेको उनले स्वीकार गरेका छन् ।
हजुरआमा र आमाको हत्या गरेको दीपेन र गोमा कार्कीले देखेपछि उनीहरूलाई खरबारीमा लखेटी लखेटी हत्या गरेको उनको भनाइ छ । पाँचजनाको हत्यापछि घर पुगेर भैंसीलाई कुँडो पकाइरहेकी हजुरआमा पार्वती कार्कीको भित्ता ठोक्काउँदै चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले बयान दिएको डीआईजी बिसीले जानकारी दिए ।
सबैको हत्या गरेपछि घटनास्थलबाट १०० मिटर टाढा रहेको आफ्नो घरमा पुगेका थिए । हत्यापछि लोकबहादुरले अभियुक्तलाई चाँडो पक्राउ गर्न भन्दै प्रहरीसँग भन्दै आएका थिए । उनले अनुसन्धानमा सहयोग मात्र गरेनन्, प्रहरीलाई खानासमेत बनाएर खुवाउँदै आएका थिए ।