लकडाउन खुकुलो बनाउने निर्णय: यस्ता छन् अन्य निर्णय - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

लकडाउन खुकुलो बनाउने निर्णय: यस्ता छन् अन्य निर्णय



काठमाडौं- सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । अब अत्यावश्यक सेवाका लागि लकडाउन खुकुलो बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ ।

कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गरेको निर्णयअनुसार अब अत्यावश्यक सेवाका लागि उद्योग सञ्चालन गर्न सकिने छ भने अन्य उद्योगहरुले कामदारलाई स्वास्थ्य सुविधासहित काम गराउन सक्नेछन् । तर उनीहरु ओहोर दोहोर गर्न पाउने छैनन् । कम्पनीभित्रै बस्नुपर्नेछ ।

“ढुवानीको साधनलाई अझ सहज गर्ने र नियमित रुपमा आयात भएका र दैनिक आपूर्ति हुने वस्तुहरुको लेखाजोखा राख्ने, मुलुकभित्र अति आवश्यक उद्योग सञ्चालन गर्ने निर्णय भएको छ,” सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले भने, “अन्य उद्योगहरुले पनि भित्र कामदारलाई सुरक्षित राखेर, स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न सक्नेछन् । तर आवागमन रोकेर भित्रै राखेर सञ्चालन गर्न दिने भन्ने निर्णय भएको छ ।”

उनले तामाकोशी, मेलम्चीलगायतका ठूला आयोजनामा पनि भित्रै कामदार राखेर काम सुचारु गर्न सकिने बताए ।

तर बाहिरबाट कामदार ल्याउने र लैजान भने पाइनेछैन ।

“बाहिरका कामदार प्रवेश गर्न नदिने, भित्रकालाई सुरक्षा उपाय निकालेर काम गराउन सक्छन्,” उनले भने ।

यसैबीच अहिलेसम्म गाउँघरमा बाली लगाउन, खेतबारीमा पनि काम गर्न नपाइने भन्दै रोकिएको थियो । आजको बैठकले यसबारेमा निर्णय गर्दै बाहिरी श्रमिक नल्याइ पारिवारिक रुपमा गर्न सकिने निर्णय गरेको छ ।

“हिउँदे बाली र वर्षे धान रोप्ने बेला भएको छ,” खतिवडाले भने, “कृषि पारिवारिक रुपमा अवरोध नगर्ने भन्ने निर्णय गरिएको छ ।”

त्यसैगरी सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई भने अहिले सरकारले केही पनि गर्न नसक्ने उनले स्पष्ट पारे ।

“सीमा वरिपरी बस्नेलाई अप्ठेरो पर्न नदिने भन्ने छलफल भएको छ,” उनले भने,“विदेश जान चाहनेलाई हामीले सुरक्षा दिने, उता रहेकालाई उतै क्वारेन्टाइनमा राख्न सहयोग गर्ने भन्ने कुरा भएको छ।”