अमेरिकामा ४० हजारको ज्यान जाँदा पनि किन हुँदैछ लकडाउन विरोधी आन्दोलन ?
एजेन्सी– महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या ३९ हजार नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरणअनुसार आइतबार मध्याह्नसम्ममा अमेरिकामा ३९ हजार १५ जनाको मृत्यु भएको छ भने ७ लाख ३९ हजारभन्दा बढी संक्रमित भएका छन्।
अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियम लागू गरिए पनि संक्रमितको संख्यामा अझै कमी आएको छैन । देशका कतिपय राज्य र सहरमा मानिसहरु लकडाउन हटाउन माग गर्दै प्रदर्शनमा समेत उत्रिएका छन्।
मानिसहरु सडकमा उत्रिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पुनः खुला गर्न विभिन्न निर्देशिका राज्यका गभर्नरलाई सुझाए पनि लकडाउन खोल्ने बारेमा स्पष्ट भइसकेको छैन।
अमेरिकामा सबैभन्दा बढी प्रभावित न्युयोर्क सहरमा नर्सिङ होममा आश्रित ज्येष्ठ नागरिकको ठूलो संख्यामा मृत्यु भएको छ।
क्लालिफोर्निया सहरमा राज्य सरकारले कोरोना संक्रमित तर हाल घरबारविहीन व्यक्तिका लागि १५ हजार होटल कक्षको व्यवस्था गरिएको गभर्नर ग्याभिव न्युसमले बताए।
इन्डियाना पोलिसमा गभर्नर एरिक होल्कोम्बको सरकारी आवासबाहिर २०० भन्दा बढी व्यक्ति भेला भएर लकडाउन खोल्न माग गर्दै प्रदर्शन गरेका छन्।
यस्तै टेक्सास राज्यको अस्टिनमा पनि घरभित्र बस्न दिइएको आदेशको विरोधमा प्रदर्शन भएका छन्।
कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ।
पछिल्लो विवरणअनुसार इटलीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ भने तेस्रो स्थानमा रहेको स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ६३९ जना रहेको छ। -एपी