वैशाखमै स्थानीय तहको निर्वाचन हुने, बिहीवार मिति घोषणा गर्ने तयारी - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

वैशाखमै स्थानीय तहको निर्वाचन हुने, बिहीवार मिति घोषणा गर्ने तयारी



सत्तारूढ गठबन्धनका दलहरू वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् ।

मंगलवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सबै दलहरू सहमत भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई बताए ।

‘समयमै स्थानीय तहको निर्वाचन गर्न सहमति जुटेको छ,’ कार्कीले भने, ‘यस विषयमा थप गृहकार्य गरेर बिहीवार फेरि बैठक बस्नेछ । त्यसपछि निर्वाचनको मिति घोषणा हुन्छ ।’

बिहीवार मन्त्रिपरिषदको नियमति बैठक पनि हुने भएकाले बिहीवार नै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको छ ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले ९ पुस, २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचनको तयारी थाल्न ध्यानाकर्षण गराएका थिए ।

निर्वाचनको संवैधानिक र कानूनी पाटो बुझ्न आयोगमा पुगेका महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग पनि आयोगका पदाधिकारीहरुले स्थानीय निर्वाचन वैशाखमै हुनुपर्ने बताएका थिए ।

तर सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउनेबारे निर्णय गरिसकेको छैन ।